काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत पोर्चुगलले उज्बेकिस्तानलाई ५–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ। मंगलबार राति सम्पन्न समूह ‘के’ को खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले प्रभावशाली प्रदर्शन गर्दै तीन अंक जोड्न सफल भयो।
पहिलो खेलमा डिआर कङ्गोसँग १–१ को बराबरी खेलेर आलोचित बनेको पोर्चुगल यसपटक भने सुरुदेखि नै लयमा देखिएको थियो। खेलको छैटौँ मिनेटमा जोआओ क्यान्सेलोको पासमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
१७औँ मिनेटमा नुनो मेन्डेसले उत्कृष्ट गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए। त्यसपछि ३९औँ मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै पोर्चुगललाई ३–० को बलियो अवस्थामा पुर्याए।
दोस्रो हाफमा पनि पोर्चुगलले खेलमाथि नियन्त्रण कायम राख्यो। ६०औँ मिनेटमा उज्बेकिस्तानका गोलरक्षक अब्दुभोखिद नेमाटोभबाट आत्मघाती गोल भएपछि स्कोर ४–० पुग्यो।
खेल सकिन तीन मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी राफाएल लेआओले गोल थप्दै पोर्चुगलको जित ५–० मा सुनिश्चित गरे।
यस जितसँगै पोर्चुगलले दुई खेलबाट चार अंक जोडेको छ भने नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। लगातार दोस्रो हार बेहोरेको उज्बेकिस्तान भने समूह चरणबाट बाहिरिने दबाबमा परेको छ।
रोनाल्डोका दुई गोलले मात्र होइन, उनको नेतृत्वमा पोर्चुगलले देखाएको सामूहिक प्रदर्शनले पनि टोलीलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरेको छ।


