काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्ने सम्झौता भएको छ।
बुधबार सम्पन्न सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार देशभरका जोखिमयुक्त क्षेत्रमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई ११५५ सर्टकोडमार्फत वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात, लु, शीतलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोट तथा डढेलोलगायतका विपद्सम्बन्धी पूर्वसूचना एसएमएसमार्फत पठाइनेछ।
पूर्वसूचना प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले विभिन्न नदी तटीय क्षेत्र, सम्भावित जोखिमयुक्त स्थान तथा स्थानीय तहका एसएमएस पोलिगन ९क्ःक् एयथिनयल० नक्सा नेपाल टेलिकमलाई उपलब्ध गराउनेछ। यसमा पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली र महाकालीलगायतका नदी तटीय क्षेत्र समेटिएका छन्।


