काठमाडौं । नेपाल टेलिकमले ‘मनसुन अफर २०८३’ अन्तर्गत नयाँ तथा परिमार्जित पोस्टपेड र प्रिपेड प्याकेज सार्वजनिक गर्दै ग्राहकका लागि थप आकर्षक सुविधा उपलब्ध गराएको छ। कम्पनीका अनुसार अफर साउन १२ गतेदेखि लागू भएको हो।
पोस्टपेड ग्राहकका लागि ‘पोस्टपेड ३७३ प्याक’ र ‘पोस्टपेड ४९९ प्याक’ सञ्चालनमा ल्याइएको छ। ३७३ रुपैयाँको ३० दिने प्याकमा ६ जीबी डाटा, ४०० मिनेट अल–नेट भ्वाइस कल र ५० वटा अल–नेट एसएमएस उपलब्ध हुनेछ। त्यसैगरी, ४९९ रुपैयाँको प्याकमा १० जीबी डाटा, ५०० मिनेट अल–नेट भ्वाइस कल तथा १०० वटा अल–नेट एसएमएस समावेश गरिएको छ।
कम्पनीले लोकप्रिय ‘सजिलो अनलिमिटेड’ पोस्टपेड प्याकलाई पनि थप सुविधासहित परिमार्जन गरेको छ। ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, दैनिक २ जीबीका दरले ६० जीबी डाटा र २०० एसएमएस उपलब्ध हुनेछ। यस्तै, ७९९ रुपैयाँमा दैनिक १० जीबीका दरले ३०० जीबी डाटा, ९९९ रुपैयाँमा दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा, १,४९९ रुपैयाँमा ५०० जीबी डाटा तथा १,९९९ रुपैयाँको ‘एक्जिक्युटिभ प्याक’ मा अनलिमिटेड भ्वाइस, अनलिमिटेड डाटा र ५०० एसएमएस सुविधा प्रदान गरिनेछ।
प्रिपेड ग्राहकका लागि पनि नयाँ डाटा प्याक थप गरिएको छ। ९९ रुपैयाँमा १ दिनका लागि ८ जीबी डाटा तथा १९९ रुपैयाँमा ७ दिनका लागि २० जीबी डाटा उपलब्ध हुनेछ। साथै, सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई थप आकर्षक बनाउँदै ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा र ३०० एसएमएस तथा १,४९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, ५०० जीबी डाटा र ३५० एसएमएस उपलब्ध गराइने कम्पनीले जनाएको छ।
त्यसैगरी, स्वतः नवीकरण हुने ‘नमस्ते रिकरिङ’ प्याकेजमा अब ६९९ रुपैयाँको नयाँ प्याक थपिएको छ। कर्पोरेट युजर ग्रुप ९सीयूजी० प्याकेजमा पनि नयाँ आकर्षक विकल्प समावेश गरिएको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले ‘नमस्ते क्रेडिट (सापटी)’ सेवामा समेत परिमार्जन गरेको छ। साउन १५ गतेदेखि लागू हुने गरी सापटी रकम ३० रुपैयाँ कायम गरिएको छ। उक्त रकमबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका डाटा, भ्वाइस वा एसएमएस प्याक खरिद गर्न सकिनेछ। यो सेवा प्रिपेड ग्राहकले मोबाइलबाट *1477# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपमार्फत प्रयोग गर्न सक्नेछन्।
कम्पनीका अनुसार मनसुन अफर अन्तर्गत भ्वाइस, डाटा, बन्डल्ड, एड-अन, एसएमएस तथा एफटीटीएच लगायतका अन्य विभिन्न प्याकेजहरू पनि उपलब्ध रहनेछन्। ग्राहकले*1415# डायल गरेर, ‘नेपाल टेलिकम’ एप वा कम्पनीको वेबसाइटमार्फत प्याकेजको जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ‘मनसुन अफर २०८३’ ग्राहकलाई थप सहज, किफायती र आकर्षक सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो।


