काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि ९ विकेटको शानदार जित हात पारेको छ। मंगलबार भएको अभ्यास खेलमा नेपालले मलेसियाले दिएको लक्ष्य सहजै पूरा गर्दै प्रभावशाली जित निकालेको हो।
२३३ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि खेल ४८ ओभरमा छोट्याइएको थियो। त्यसपछि नेपालले ४८ ओभरमा २२८ रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य नेपालले २८ ओभरमै मात्र १ विकेट गुमाएर पूरा गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रन बनाएको थियो। नेपालको बलिङतर्फ कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। करण केसीले २ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।
नेपालका लागि ओपनर आसिफ शेखले विस्फोटक ब्याटिङ गर्दै १६१ रन बनाए। उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गरे। यस्तै, अर्जुन कुमाल ६१ रनमा अविजित रहे।


