काठमाडौं । नेपाल टेलिकमले क्रिकेटर कुशल भुर्तेल र मोडल तथा अभिनेत्री नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
कम्पनीले आफ्नो ब्रान्ड प्रवद्र्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले भुर्तेल र शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ।
नेपाल टेलिकमले गत साउन २० गते नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो। त्यस्तै, आज भदौ २५ गते चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो।
नियुक्तिपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल०ले खेलकुद र मनोरञ्जन क्षेत्रका लोकप्रिय व्यक्तित्वसँगको सहकार्यले विशेषगरी युवा पुस्तामाझ कम्पनीको पहुँच थप विस्तार हुने विश्वास व्यक्त गरिन्।
उनले यस्तो साझेदारीले नेपाल टेलिकमको सामाजिक छवि अभिवृद्धि गर्नुका साथै कम्पनीका विभिन्न सेवासुविधाको प्रचारप्रसार र व्यवसाय प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने बताइन्।
नवनियुक्त ब्रान्ड एम्बेसडर कुशल भुर्तेल र नीति शाहले नेपालकै ठूलो तथा स्वदेशी लगानीको दूरसञ्चार कम्पनीसँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको बताएका छन्।
उनीहरूले नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कम्पनीको सामाजिक छवि संरक्षण, सेवासुविधाको प्रवद्र्धन तथा बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल टेलिकमका अनुसार भुर्तेल र शाहले स्वदेश तथा विदेशमा रहेका ग्राहकहरूमाझ कम्पनीका विभिन्न सेवा–सुविधाको प्रचारप्रसार तथा ब्रान्ड प्रवद्र्धनसम्बन्धी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नेछन्।
कम्पनीले खेलकुद र मनोरञ्जन क्षेत्रका लोकप्रिय अनुहारलाई ब्रान्डसँग जोडेर आफ्नो सेवा तथा ब्रान्डलाई नयाँ पुस्तामाझ थप प्रभावकारी रूपमा पुर्याउने लक्ष्य लिएको छ।


