काठमाडौं ।
बुवा....
यो केवल एउटा शब्द होइन,
सन्तानले जीवनभर महसुस गरिरहने
एउटा निस्वार्थ माया हो।
आफ्ना रहरहरूलाई चुपचाप थन्क्याएर
सन्तानका सपनाहरू पूरा गर्न दौडिरहने,
आफ्नो दुःखलाई मुस्कानभित्र लुकाएर
हामीलाई खुसी देख्न चाहने मान्छे हुन्—बुवा।
हामी सानो हुँदा
बुवाको औँला समातेर संसार चिनेका थियौँ।
आज हामी ठूला भयौँ,
आफ्नै बाटो रोज्न सक्ने भयौँ,
तर त्यो यात्राको पहिलो पाइला
बुवाकै हात समातेर चालिएको थियो।
समयसँगै बुवाको अनुहारमा
संघर्षका केही रेखाहरू थपिएका छन्,
कपालमा चाँदीजस्तै सेतोपन देखिन थालेको छ।
सायद उमेरले उहाँलाई कमजोर बनाउँदै होला,
तर सन्तानका लागि
बुवाको माया कहिल्यै कमजोर हुँदैन।
बुवाले कहिल्यै ठूलो सपना
आफ्ना लागि देख्नुभएन होला,
तर सन्तानका आँखामा देखिएका
हरेक सपनालाई आफ्नो सपना बनाउनुभयो।
त्यसैले त—
बुवा घरको एउटा सदस्य मात्र होइन,
घरको आधार हुन्स
परिवारको साहस हुन्स
सन्तानको पहिलो शिक्षक,
पहिलो संरक्षक
र जीवनभरको भरोसा हुन्।
आज बुवाको मुख हेर्ने दिन।
यो दिन केवल बुवाको अनुहार हेर्ने दिन होइन,
उहाँको त्याग सम्झिने,
उहाँको माया महसुस गर्ने
र उहाँप्रति कृतज्ञ हुने दिन पनि हो।
बुवा,
तपाईंले दिनुभएको माया
शब्दले कहिल्यै बयान गर्न सक्दैन।
तपाईंको संघर्षको मूल्य
कुनै उपहारले तिर्न सकिँदैन।
बस्, यति चाहन्छु—
तपाईंको अनुहारमा सधैँ मुस्कान रहोस्,
तपाईंको जीवनमा सधैँ खुसी रहोस्,
र तपाईंको आशीर्वाद
मेरो शिरमाथि सधैँ रहिरहोस्।
बुवा, तपाईं हुनुहुन्छ र त
मेरो जीवनमा ‘घर’ भन्ने शब्दको अर्थ छ।
बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।
मुना..!!!


