काठमाडौं । नेपालमा सडक दुर्घटनाका कारण बर्सेनी सयौँको सङ्ख्यामा ज्यान जाने गरेको तथा झण्डै तेब्बरको सङ्ख्यामा घाइते हुने गरेको तथ्याङ्क सार्वजनिक हुने गरेको छ। पटक पटक प्राकृतिक विपत्ति दोहोरिनाले पनि सडक यातायात क्षेत्रमा ठूलो जनधनको क्षति भएको पाइन्छ। सडक विस्तारमा सरकारको बजेट प्राथमिकतामा परेपनि ट्राफिक नियमको उल्लङ्घन, सडक निर्माणमा भएको ढिलाइ, प्रतिस्पर्धात्मक यात्राका कारण सडक दुर्घटना बढ्ने गरेको जानकारहरु बताउँछन्।
अझ गम्भीर कुरा के छ भने चालकले मादक पदार्थको सेवन गरेर सवारी चलाउनु, सहचालक द्वारा चालकको जिम्मेवारी बहन गर्नु, ट्राफिक नियम मिचेर खचाखच यात्रु राख्नु पनि सडक दुर्घटनाको अर्को कारण बन्न सक्छ। सडक विस्तारमा भूगोलको स्थिति, ट्राफिक नियम नबुझेर यात्रुद्वारा हुने कमजोरी पनि सडक दुर्घटनाका मुख्य कारण बनेको छ। हालसम्म ५४ प्रतिशत सडक कालोपत्रे भएपनि सडक यातायात सुरक्षित हुन नसक्नु विडम्बनाको विषय हो। सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको भूमिका महत्वपूर्ण हुन्छ।
सडक दुर्घटना न्यूनीकरणका उपायहरु
१. ट्राफिक नियमको कडा पालना,सवारी चालकले गति सीमित राख्ने, मादक पदार्थ सेवन नगर्ने, सिटबेल्ट र हेलमेट अनिवार्य रूपमा लगाउने।
२.सवारी साधनको नियमित मर्मत: पुराना र यान्त्रिक रूपमा कमजोर सवारी साधन चलाउन रोक लगाउने।
३. सडक दुर्घटना र दुर्घटना न्यूनीकरणका अभियान संञ्चालन गर्ने।
४. सडक पूर्वाधारमा सुधार: खाल्डाखुल्डी पुर्ने, मोड सुधार गर्ने र सडकमा पर्याप्त उज्यालोको व्यवस्था गर्ने।
५. समय समयमा सरोकारवाला सित छलफलका कार्यक्रम राख्ने।
६. सडक दुर्घटना सम्बन्धि सचेतना अभियानका कार्यक्रम संञ्चालन गर्ने आदि कार्य गर्न सके सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।
विकासका पूर्वाधार मध्ये सडक यातायात पनि एक हो। नेपालको सन्दर्भमा अधिकांश नागरिकले सडक यातायातको प्रयोग गर्ने गरेका छन्। धेरै नागरिकको पहुँचमा सडक यातायात रहेकाले पनि यातायातको माध्यमद्वारा जीविकोपार्जनका लागि अत्यावश्यक सामग्रीको ओसारपसार साथै औद्योगिक, व्यापार, पर्यटन क्षेत्र आदिको समग्र विकासका निम्ति निर्भर रहनु परेको सबैलाई अवगत रहन्छ।
तसर्थ राज्यको ध्यान सडक दुर्घटना न्यूनीकरणमा जानु आवश्यकता हो। सडक यातायातको व्यवस्थित संजाल, साथै प्रणालीको विकास र यस्ता विकासबाट मात्र सामाजिक तथा आर्थिक उन्नति एवम् प्रादेशिक सन्तुलन राख्न सक्ने भएकाले ट्राफिक सचेतना, उचित परामर्श अनि कानुन कार्यान्वयनमा जोड दिन सकेमा सडक दुर्घटनामा कमी आउन सक्ने विज्ञहरू बताउँछन्। सडक यातायात, रेल मार्ग, हवाई मार्ग, जल मार्ग, विद्युतीय मार्ग, आदि यातायातका माध्यम हुन्।
नेपालका अधिकांश जनताले सडक यातायातको प्रयोग गर्ने गरेका छन् यद्यपि सडक पूर्णरूपमा सुरक्षित हुन नसक्नु, मापदण्डबिना सडक आयोजना पहिचान तथा छनौट हुनु, आवश्यक पूर्व तयारी बिना आयोजना कार्यान्वयनमा लैजानु, सडक प्रति सर्वसाधारण जनताको कमजोर अपनत्व पनि सडक दुर्घटनाका मुख्य कारण हुन्। यस क्षेत्रका मुख्य समस्या हुन्। सरकारले यस्ता समस्याको पहिचान गरेर लोक मार्ग, कृषि सडक, भूमिगत मार्ग, विकास तथा सडक डिजाइन निर्माण मर्मत सम्भार तथा सडक सुरक्षाका लागि आधुनिक प्रविधिको उपयोग तथा यान्त्रीकरणमा जोड दिँदै ट्राफिक नियमको उपयुक्त कार्यान्वयन हुन सकेमा सडक दुर्घटना न्यूनीकरणमा टेवा पुग्छ।
जनताको अपेक्षा अनुरूप सडक यातायातलाई सुरक्षित भरपर्दो र दिगो बनाउनुपर्नेमा सरोकारवालाको जोड रहेको छ। देशको आवश्यकतानुसार विकासका गतिविधि संञ्चालन गर्ने तथा यात्रुको जीउधनको सुरक्षाका निम्ति सरकार र सम्वन्धित निकाय तदारुकताका साथ लाग्न सकेमा सडक दुर्घटना र न्यूनीकरणका उपायलाई अवलम्वन गर्न सकिन्छ। राजधानी एवम् राष्ट्रिय गौरवका सडक आयोजना (पुष्पलाल लोक मार्ग, उत्तर दक्षिण लोकमार्ग) र कोशी करिडोरमा समेत ट्राफिक नियमको पालनामा प्रश्न चिन्ह खडा हुनुले सडक दुर्घटना कमी हुने छाटकाट देखिदैन।
लेखक एक्सप्रेस पाना डटकमको सम्पादक हुन् ।
.jpg)


