शनिबार, भाद्र २७ गते २०८३
images

इजरायलमा नेपाली कामदारको माग    

एक्सप्रेस पाना
श्रावण १२, २०७८ मंगलबार
  • 400
    SHARES
  • इजरायलमा नेपाली कामदारको माग    

    काठमाडौँ ।  इजरायलमा नेपाली कामदारको माग हुदैँ आएको छ । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे केयरगिभर कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो।

    images

    कोरोना महामारीका कारण अवस्था असामान्य नभएमा इजरायलले मागेको श्रमिकका लागि एक डेढ हप्ताभित्र विज्ञापन खुलाएर श्रमिक पठाउने तयारी सरकारको छ। सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो।१ हजार कामदार माग भएसँगै कसरी पठाउने भनेर सरकारी अधिकारीहरूले तयारी थालेका छन्।

    वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीका अनुसार हजार जनाका लागि विज्ञापन खुलाउँदा व्यवस्थापनमा समस्या हुने कि भनेर चरणबद्ध रूपमा गर्नेबारे गृहकार्य भइरहेको छ।

    images

    ‘एकैचोटि खुलाउने कि दुईपटक गर्ने भन्ने विषयमा भने इजरायलसँग अनुमति मागिँदै छ, चरणबद्ध रूपमा पठाइयो भने व्यवस्थापन गर्न समेत सहज हुने थियो,’ उनले भने। विभागका अनुसार इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाउने तयारी छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ। नेपाली युवाहरूको आकर्षक गन्तव्य बन्दै गएको इजरायलमा रोजगारीमा पठाउन सरकारले पछिल्लोपटक गत असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गरेको छ जसअनुसार अब सरकार टु सरकार जीटुजी मार्फत् कामदार इजरायल पठाउनेछ।

    सम्झौताअनुसार इजरायलले केयर गिभर, कृषि, होटल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिने छ। तर, पहिलो चरणमा केयर गिभर मात्रै लैजाने तयारी भएको छ। पहिलो चरणमा केयर गिभर कामदार लैजान इच्छुक इजरायलसँग गत माघ ८ गते ‘इम्प्लिमेन्टेशन प्रोटोकल’ मा दुईपक्षीय हस्ताक्षर भएको थियो।