काठमाडौँ । इजरायलको रोजगारीका लागि करिब २० हजारले आवेदनका लागि यूज़र आई डी बनाएका छन् । आवेदन खुला गरेको १२ दिनको अवधिमा उक्त आवेदन परेको हो । विभागले २१ दिनको अवधि दिएर आवेदन खुला गरेको हो ।
आइतबार साँझसम्म १९ हजार ९५ जना आवेदनकर्ताले युजर आइडी बनाएको र त्यसमध्ये तीन हजार आठ सय जनाले तोकिएका कागजपत्रसहित आवेदन दिएको विभागको इजरायल शाखाका प्रमुख उपसचिव डम्बर सुनुवारले जानकारी दिए । विभागका अनुसार एक हजार ६ सय ५१ जना महिला र २ हजार १ सय ६१ जना पुरुष रहेका छन् ।
विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले रोजगारीमा जान चाहनेले विभागको बेवसाइटमा गएर सजिलै अनलाइन फारम भर्न सक्ने बताए । इजरायल सरकारले पहिलो चरणमा केयर गिभर क्षेत्रमा मात्र नेपाली कामदार लिन खोजेको हो । यसपछि क्रमशः कृषि, होटल, रेष्टुरेण्ट, निर्माण लगायतका क्षेत्रमा पनि इजरायल सरकारले नेपालीलाई रोजगारीको अवसर दिने जनाइएको छ ।
आवेदन दिएकामध्येबाट छनोट भइसकेपछि इजरायलमा ३० प्रतिशत अर्थात तीन सय जना पुरुष र ७० प्रतिशत अर्थात सात सय जना महिला गरी एक हजार जनाले रोजगारी पाउने छन् । विभागका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक पारिश्रमिक नेपाली रुपैयाँ करिब एक लाख ९३ हजार हुनेछ । कामदारले खानाको प्रवन्ध आफैं मिलाउनुपर्ने छ भने बस्ने व्यवस्था रोजगारदाताले नै मिलाउने सम्झौतामा उल्लेख छ ।


