आइतबार, भाद्र २८ गते २०८३
images

यक्ष र मोक्षको लागि जिब्रो छेडेर बागेश्वरी मन्दिरकाे दर्शन

एक्सप्रेस पाना
चैत्र २७, २०७८ आइतबार
  • 448
    SHARES
  • यक्ष र मोक्षको लागि जिब्रो छेडेर बागेश्वरी मन्दिरकाे दर्शन

    चैत २७ काठमाडौं । रामनवमीको दिनमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दु धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा चलिआएको छ । चैते दसैँ सुरु हुने परेवाको दिनदेखि नै निरहार व्रत बसेको पुरुषले आफ्नो भाकल पूरा गराउन वा भाकेको कुरा पूरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्नेे चलन परापूर्वकालदेखि नै चलिआएको बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले जानकारी दिए ।

    images

    उनले पहिलाको तुलनामा अहिले जिब्रो छेड्न आउनेको संख्या घट्दै गएको र मानिसहरू आफ्नो जिब्रो काटेर चढाउने, जिब्रो र छातीमा त्रिशुल रोपेर दिनभरि मन्दिरको परिक्रमा गर्ने भक्तजनहरू पनि रहेका तर, अहिले यो अलि घटेर गएको बताए ।

    नवरात्रको व्रत बसेका व्रतालुहरू बडा दसैँको र चैते दसैँको नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेड्ने परम्परा रहेको र हरेक वर्ष करिब १५० बढि धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेको मूलपुरोहित योगीले जानकारी दिए । 

    images

    बाँके खजुरा गाउपालिका- ८ का ६५ वर्षीय राम खेलावनले अहिले ५० पटकभन्दा बढी आफ्नो जीवनकालमा जिब्रो छेडेर बागश्वरी मन्दिरको परिक्रमा गरेको बताए । उनले भने, ‘सानै उमेरदेखि जिब्रो छेडेर दर्शन गर्दै आएको छु । अहिलेसम्म ५० पटकभन्दा बढी भयो होला,’ उनले यसरी देवीको दर्शन गर्दा शक्ति प्राप्त भएको महसुस हुन्छ ।' 

    पानको पात र फलामको तिखो त्रिशुलले जिब्रो छेडेर देवीको दर्शन गर्दा पीडा पनि नहुने र रगत पनि नदेखिने बाँके डुडुवा–६ हिमिनियाका ६० वर्षीय बर्मन लोनियाले बताए । उनले भने, ‘५० भन्दा बढी पटक मैले जिब्रो छेडेर देवीकाे दर्शन गरेको छु । रगत पनि बगेको छैन, न त मलाई कुनै पीडा नै भएको छ ।’

    बाँके डुडुवका–६ हिरमिनियाँकै २० वर्षीय सियाराम लोनियाले ७ पटक, भारत बाबागन्जका २७ वर्षीय ओमप्रकाश यादवले २० पटक जिब्रो छेडेर बागेश्वरी मन्दिरको परिक्रमा गर्दै दर्शन गरेको बताए । 

     नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडा दसैँ र चैते दसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निरहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख बिमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परापूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।न्युज कारखाना