काठमाडौँ । अफगान राष्ट्रपतिको कार्यालय कब्जा गरेसँगै तालिबानले आफूलाई विजयी भएको दाबी गरेको छ। साथै उसले युद्ध पनि सकिएको घोषणा पनि गरेको छ। अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेपछि आफैँले विजयी भएको दाबीसहित युद्ध सकिएको घोषणा गरेको हो।
तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ। हामीले चाहेको प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता।’
उनले विदेशी शक्तिहरूलाई अफगानिस्तानमा हस्तक्षेप गरेर असफल हुने प्रयास नगर्न पनि चेतावनी दिएका छन्। तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडेका छन्। उनी काजकिस्तान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको जनाएका छन् । पछिल्लो विवरणमा उज्वेकिस्तानमा शरण लिएर बसेको जनाइएको छ। उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएको विवरणहरु आएका छन्।
राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अमेरिकाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरलाई अस्थायी रुपमा दूतवास बनाएको छ। हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको हो।
विमानस्थल परिसरमा ४ हजार अमेरिकी सैनिक परिचालन गरेको अमेरिकाले धमाधम आफ्ना नागरिकको उद्धार गरिरहेको छ। अब अफगानिस्तानमा कार्यरत १ हजार ४०० अमेरिकी कर्मचारी पनि स्वदेश फर्काउने तयारी अमेरिकाले गरेको छ।


