आइतबार, कार्तिक १६ गते २०८३
images
images

लकडाउनले नछोएको आरन व्यवसाय

एक्सप्रेस पाना
भाद्र १, २०७८ मंगलबार
  • 852
    SHARES
  • लकडाउनले नछोएको आरन व्यवसाय

    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यवसाय र अन्य रोजगार पनि बन्द छ । मानिस काम नपाएर पट्यारिलो दैनिकी गुजार्न बाध्य छन् । घरभित्र थुनिएर बस्नुपर्दा आम्दानीका बाटा पनि बन्द भएको र बन्दाबन्दी खुलेपछि थपिने आर्थिक बोझले मानिस आतिन थालेका छन् ।

    images

    तर, मंंगलसैन नगरपालिका वडा नम्बर १३ का ५२ बर्षीय करन कामीलाई भने लकडाउन आम्दानीको सुनौलो अवसर जस्तै बनेको छ । आरन व्यवसाय पुर्ख्यौली पेशा भए पनि उनले कोरोना महामारीको पहिलो चरणको बन्दाबन्दीमा भारतबाट फर्किएपछि मंसिर २०७७ बाट अमर कृर्षि औजार फर्मको रुपमा आरन व्यवसाय सुरु गरेका हुन् । बन्दाबन्दीका कारण शहर वा विदेशबाट गाउँ फर्किएका व्यक्ति अहिले गाउँमा आरन व्यवसायमा व्यस्त छन् ।

    कृषिकर्मका लागि कृषकलाई औजारहरु उधिन्ने, साँध लगाउने, मर्मत वा निर्माण गर्नुपर्दछ । यी सबै कामको बोझ ५२ वर्षीय करण कामीले सहर्ष स्वीकार गरेका छन्। एक टिनको छाप्रोमा सञ्चालन गरेको करनको आरन व्यवसाय आम्दानीको गतिलो माध्यम बनेको छ ।

    images

    आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुर्ख्यौली पेशा भएकाले निरन्तरता दिएको उनले बताए । टिनको छाप्रामूनि रहेको उनको आरनमा खुकुरी, बन्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबेजस्ता फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् ।

    उनका बाबुबाजेले आरन व्यवसायलाई खलो प्रथाका रुपमा लिर्दै आएका थिए । तर, करन भने खलो प्रथाका रुपमा नभई व्यवसायका रुपमा अघि बढाएका छन् । उनले अहिले आरन व्यावसायबाट मासिक १५र२० हजार आम्दानी गर्दै आएका छन् । 

    कामी काँचो फलाम किनेर विभिन्न सामान निर्माण गर्दै आएका छन् भने विद्युतको सहायताबाट तिनै फलामका सामान चम्काउने गर्छन् । आरन पुरानो भए पनि निकै आकर्षक र लाग्ने खालका सामान बन्छन् । आरनमा बनेको खुकुरीलाई न्यूनतम तीन हजारदेखि आठ हजारसम्म मूल्य पर्दछ । यसैगरी हँसिया र फालीलाई एक–एक हजार, कोदाली, टुकुटुके एक हजारदेखि पाँच सय मूल्य पर्ने उनले बताए ।

    उमेरले ५०औँ वसन्तमा घुम्दै गरेका हर्कबहादुरले फलामका साथै काठको काम गर्न पनि सिपालु छन् । परम्परागत सीप र प्रविधिमा आधारित आरनमा सामुदायिक वनजङ्गलबाट पैयुँ, गुराँस र  मौवारुखको सहयोगमा गोल बनाएर आरन सञ्चालन गरिन्छ । वनबाट ल्याएको गोलको सहयोगबाट नै फलामका सामान तिखारिन्छन् र चम्किन्छन् ।

    करन आफै पनि अपाङ्ग छन् । उनको दायाँ खुट्टले खासै काम गर्दैन  । तर, उनी आरन व्यवसायबाटै आफ्नो परिवारको जीविकोपार्जन गरिरहेका छन् । व्यवसाय सञ्चालन गर्दा थुपै चुनौति खेप्नु परेको कामी सुनाउँछन् । घरको आर्थिक अवस्था कमजोर भए पनि रिन दान गरेर व्यवसाय सञ्चालन गरेका कामीको परिवारको लागि सबथोक त्यही आरन व्यवसाय बनेको छ । स्थानीय तहबाट सहयोग प्राप्त भए आरन व्यवसायलाई आधुनिक व्यावसायका रुपमा सञ्चालन गर्ने उनको सपना छ । न्युज कारखाना