शनिबार, भाद्र २७ गते २०८३
images

कक्षा १२ को परीक्षा दशैं अगावै हुने सम्भावना

एक्सप्रेस पाना
भाद्र ७, २०७८ सोमबार
  • 404
    SHARES
  • कक्षा १२ को परीक्षा दशैं अगावै हुने  सम्भावना

    भाद्र ७ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएको जानकारी बोर्डका अधिकारीहरूले दिएका छन् । 

    images

    ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा रहेको जानकारी दिए । सीसीएमसीसित अनुमति लिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाका बारेमा सूचित गरिने उनले बताए । राजधानी र सहरी क्षेत्रमा अध्ययन गर्ने धेरै परीक्षार्थीहरू परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उनले बताए ।

    सीसीएमसीले अनुमति दिएमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै समस्या नभएको परीक्षा नियन्त्रक शर्माले स्पष्ट गरे । सरकारले यसै साता मात्रै कोरोना भाइरसविरुद्धको खोप कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई उपलब्ध गराएको छ ।

    images

    यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ ।