शारीरिक रूपमा अपाङ्गता भएकी मोरङको लेटाङ नगरपालिका-९ की १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ-३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार युवतीका दुवै खुट्टा चल्दैनन् । हिँडडुल गर्न नसक्ने अवस्थाकी युवतीलाई बलात्कार गरेको भनेर किटानी जाहेरी परेपछि राईलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। लेटाङ-९ मा राईको खेती छ। काम गर्नलाई खेतमा गएका बेला गत शनिबार राति युवतीलाई बोकेर आफ्नै खेतमा रहेको टहरोमा लगी राईले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अपांगता भएकी युवती बलात्कृत भएको दुई दिनपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो। घटनाको जानकारी पाउनसाथ सोमबार पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


