शनिबार, भाद्र २७ गते २०८३
images

मनाङमा जनजीवन प्रभावित

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 301
    SHARES
  • मनाङमा जनजीवन प्रभावित

    मनाङ । जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ । चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् ।  

    images

    चिसो बढे पनि यसपटक हिउँ परेको छैन । मौसम विज्ञान विभागले हिमपात हुनसक्ने अनुमान गरेको भए पनि हालसम्म हिमपात भएको छैन । चिसो बढ्दै गएपछि यहाँका कतिपय बासिन्दा घर, गोठ र व्यापार हेर्ने मान्छे राखेर चिसो छल्न पहाड तथा तराईतर्फ झर्न थालेका छन् । गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्याएको भौतिक संरचनाको निर्माण कार्य चिसोकै कारण रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङका सडक, पुल, जलविद्युत्लगायतका विकास निर्माणका काम रोकिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताइन् । “सदरमुकाम चामे, नासो गाउँपालिका क्षेत्रमा सिमेन्ट प्रयोग हुने कार्य रोकिएको छ, तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा संरचना निर्माणको काम गर्न सकिँदैन”, उनले भनिन् । 

    हिउँ नै नपरे पनि चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर जय विष्टले बताए । “हिउँका कारण सिमेन्ट प्रयोग गरी निर्माण गरिने माथिल्लो मनाङको संरचनाका काम गर्न सकिँदैन, यहाँको काम वर्षमा तीन महिना मात्रै गर्न पाइन्छ”, उनले भने । 

    images

    मनाङको मेरुदण्डका रुपमा रहेको चामे–बेँसीशहर सडक खण्डको निर्माण कार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उनले बताए । अन्य जिल्लाको दाजोमा प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न कठिन रहेको उनको भनाइ छ । सो सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ ।

    मनाङको सहज यातायातका लागि सङ्घ सरकारले विशेष रुपमा सडक तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । रु तीन करोड १४ लाख बजेट विनियोजन भएर तल्लो मनाङ तालगाउँको संरक्षणका लागि तटबन्धन निर्माणको काम भने भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सकिने अवस्थामा मौसम प्रतिकूल भएपछि केही ढिलाइ हुने भएको कार्यालयले जनाएको छ । 

    सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ-छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेंशीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ । डुम्रे–बेंशीशहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन सङ्घ सरकारले कूल रु ६० करोड विनियोजन गरेको छ । 

    बहुवर्षीय रुपमा मनाङको मेरुदण्डको विकासका लागि बजेट विनियोजन हुँदै आएको छ । आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेँसीशहर–चामे सडकखण्डलाई चौँडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बाटो बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेंशीशहर–चामे सडक योजना रहेको कार्यालयले जनाएको छ ।