हेटौंडा । मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह मकावनपुर फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको हो । मनाङले फाइनलमा हिमालयन शेर्पा र एभिनियर एफसी क्यामरुनवीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
मनाङलार्इ फइनलमा पुर्याउन टाइब्रेकरमा सरोज योञ्जन, विसन गुरुङ, सैजामोल हेडविनसन र आशिष गुरुङले गोल गरेका थिए । पराजित सशस्त्रको तर्फबाट नवीन लामा र सुदिप सिख्रकारले मात्र गोल गरे । एपीएफका सनी श्रेष्ठको प्रहार गोलपोष्टको बारमा लागेर फर्किदा दीपेश धिमालको प्रहार मनाङका गोलरक्षक दीप कार्कीले बचाएका थिए ।
खेलको म्यान अफ द म्याच मनाङ मर्स्याङ्दी क्लबका टिम क्याप्टेन दीप कार्की चुनिए । उनले नगद १० हजार सहित ट्रफि प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हिमालयन शेर्पा क्लब र एभिनियर एफसी क्यामरुनबीच हुनेछ । आयोजकले गोल्डकपको विजेतालाई १५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार रकम प्रदान गर्नेछ ।


