काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटलीका भेन रेञ्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार उनलाई नियुक्त गरेको जनाएको छ ।
एन्फाले हिजो बसेको कार्यसमिति बैठकले इटलीका एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो । पदपूर्ति समितिले सिफारिस गरे अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एनेस यसअघि बेलिजको राष्ट्रिय टिमको प्रशिक्षण गरेका थिए । इन्डियन सुपर लिगमा उनी नर्थ इस्ट युनाइटेडको प्रशिक्षक थिए ।
त्यसअघि उनले आई लिगको गोकुलम केरलाको टिम हेरेका थिए । यूईएफए प्रो लाइसेन्स प्राप्त कोच एनेसले भारतीय क्लब गोकुलम केरलालाई लगातार दुई पटक आई लिग जिताएका थिए ।
अब्दुल्लाह अल्मुताइरीको राजीनामा पछि रिक्त रहेको प्रशिक्षक पदमा अब एनेसले सम्हाल्ने छन् । यस्तै वित्तीय निर्देशकमा सजय गिरी, खरिद प्रमुख कृष्ण श्रेष्ठ इन्जिनियरमा नविन राजभण्डारी र लेखा सहायक रवि खड्का नियुक्ति गर्ने निर्णय गरिएको छ ।
यसअघि नेपालले घरेलु मैदानमा आयोजना भएको बङ्गलादेश र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलका लागि क्रमशः प्रदीप हुमागाईं र सहिद स्मारक ए डिभिजन लिगको साविकको विजेता मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षणको जिम्मेवारी दिएको थियो ।


