नेपाल राष्ट्रिय शिक्षक संगठन मेलम्ची नगर समितिले ४४ औं शिक्षक दिवस तथा नयाँ वर्ष २०८० को अवसर पारेर शैक्षिक क्यालेण्डर वितरण तथा शैक्षिक अन्तक्र्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ । मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष डम्बर बहादुर अर्यालको प्रमुख आतिथ्यता एवं मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विबिध शैक्षिक सूचना र जानकारीमूलक विषयवस्तु समावेश गरि तयार गरिएको २०८० को शैक्षिक क्यालेण्डर नगरपालिकाका सबै शिक्षक तथा कर्मचारी समक्ष पुर्याउने गरी वितरण गरिएको हो ।
विद्यालय तहमा कक्षागत रुपमा त्रैमासिक पठनपाठनका विषयवस्तुसँगै पाठ्यक्रमका आधारभुत जानकारी समेत समावेश गर्दा यसले शिक्षकको दैनिक क्रियाकलापलाई सहज बनाउन र पाठ्यक्रमको प्रभावकारी बनाउन मद्दत पुग्ने उद्देश्य राखिएको संगठनका नगर अध्यक्ष लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।
साथै कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कृष्णमुरारी चौलागाई, वडा नं. ७ का वडाध्यक्ष पासाञ तामाञ र वडा नं. ११ का वडाध्यक्ष चन्द्रबहादुर तामाञले नगरपालिकाको शैक्षिक विकासको लागि शिक्षकहरुसँग सहकार्य गर्दै योजना बनाउने र शिक्षकको पेशागत हक अधिकारको सुरक्षाप्रति प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नंं १ का वडाध्यक्ष कृष्णमुरारी चौलागाईले विकासको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै शिक्षा रहेको र बालबालिकाको उचित शिक्षाको खोजीमा समुदायका धेरै मानिहरु सहरमा बसाई केन्द्रित गर्न पुगेको बताउँदै सार्वजनिक विद्यालयको भौतिकसँगै अब शैक्षिक विकासमा सबै ध्यान केन्द्रत हुनुपर्ने बताउनुभयो । साथै उहाँले राम्रो गर्ने र नराम्रो गर्ने नछुट्याइ शिक्षकहरुमाथी एकोहोरो दोष थोपर्ने प्रवृत्ति उपयुक्त नभएको बताउँदे काम गर्नेलाई प्रोत्साहन गर्ने संस्कार बसाउन आफु लागिपर्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतथि उमा प्रधानले नगरभित्र शिक्षाको स्तर माथी उठाउन सबैको सहकार्य आवश्यक हुने र यसका लागि शिक्षकहरुको तर्फबाट बेलाबेलामा सुझाव तथा सल्लाहको अपेक्षा गरेको बताउनुभयो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथी एवं मेलम्ची नगरपालिकाका पूर्व प्रमुख डम्बरबहादुर अर्यालले शिक्षकहरुले समयअनुार आफुलाई परिवर्तन लैजानुपर्ने र पालिकाभित्र विद्यालय नक्सांकन सहित समायोजनको ठोस योजना आवश्यक रेहेको बताउनु भयो । अन्तक्र्रिया कार्यक्रममा सहभागिहरुले स्थानीय पाठ्यक्रम, पदस्थापनका क्रममा भएका केही त्रुटी, पालिकाको शैक्षिक गतिबिधि, कार्यशैलीबारे टिप्पणी गरेका थिए । कार्यक्रम संगठनका मेलम्ची नगर अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने संगठनका सचिव प्रकाश सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो ।


