काठमाडौँ, ३१ असार नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुसन्धान लेखनसम्बन्धी शैली पुस्तिका बनाउने भएको छ । पुस्तिका निर्माणका लागि आवश्यक गृहकार्य शुरु गरिएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
प्रतिष्ठानको आयोजनामा यहाँ आज भएको ‘अनुसन्धान लेखन अभिमुखीकरण वेभिनार गोष्ठी’लाई सम्बोधन गर्दै कुलपति उप्रेतीले भन्नुभयो, “अनुसन्धान लेखनसम्बन्धी निर्दिष्ट शैली पुस्तिका आवश्यक देखिएको छ, विज्ञको सहयोग लिएर प्रतिष्ठानले बनाउने योजना अघि बढाएको छ ।” प्रतिष्ठानले निकालेको प्रा डा दयाराम सम्भवद्वारा लिखित अनुसन्धान विधिबारेको पुस्तक झण्डैझण्डै शैली पुस्तिका जस्तै रहेको उल्लेख गर्दै उहाँले प्रतिष्ठानले तयार पारेको नेपालीको शैक्षिक व्याकरण आगामी हप्ता सार्वजनिक गर्न लागिएको जानकारी दिनुभयो ।
समारोहमा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले अनुसन्धानकै विषयमा यसअघि दुई गोष्ठी सम्पन्न भएको बताउनुभयो । उहाँले प्रतिष्ठानले मानक वणविन्यास निर्माणका साथै विगतको त्रुटि सच्याएर एक लाख ५० हजार शब्दको बृहत् शब्दकोष निर्माण गरिएको बताउनुभयो । उहाँले अनुसन्धान पद्धतिको शैली पुस्तिकाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिँदै भन्नुभयो, “अमेरिका, चीनको आफ्नै अनुसन्धान पद्धति छ भने नेपालको किन हुन सक्तैन ।” उहाँले विज्ञ सम्मिलित कार्यशाला नै गरेर त्यसैको निष्कर्षका आधारमा शैलीपुस्तिका निकालेर अनुसन्धानमा एकरुपता कायम गरिने बताउनुभएको छ । उक्त वेभिनार गोष्ठी प्रतिष्ठानको साहित्य(समालोचना र निबन्ध) विभागको आयोजनामा भएको थियो ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै प्रा डा रमेश भट्टराईले नेपालमा पढाइ एकातिर र अनुसन्धान अर्कातिर भएकाले सिकाइसँग अनुसन्धानलाई जोड्ने अभ्यास नै हुन नसकेकोमा चिन्ता प्रकट गर्नुभयो । अनुसन्धान ज्ञान निर्माणको पद्धति भएको उल्लेख गर्दै उहाँले त्यसमा नयाँ कुरा उधिन्न सकिएन भने त्यो अनुसन्धान हुनै नसक्ने जिकिर गर्नुभयो ।
प्रा डा भट्टराईले अनुसन्धान के हो, कसरी गर्ने, तथ्य सङ्कलन, समस्याको कथन, अनुसन्धान पद्धति, शीर्षक चयन कसरी गर्ने लगायतका विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । अनुसन्धानलाई संस्कृतिका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै भट्टराईले शीर्षकलाई सान्दर्भिक बनाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “शीर्षकलाई जबर्जस्त चयन गरेका हुन्छौँ तर त्यसले अनुसन्धान संस्कृतिको विकास गर्दैन ।” शीर्षकमा सङ्क्षिप्त शब्द र सङ्ख्या हाल्न नहुने तर्क उहाँको थियो । मुलुकमा १२ महिना पढेपछि शोधको विषय चयन हुने गरेकोतर्फ इङ्गीत गर्दै उहाँले त्यसको सुधारको खाँचो रहेको औँल्याउनुभयो ।
प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (समालोचना र निबन्ध) विभाग प्रमुख प्रा डा गोपीन्द्र पौडेलले प्रतिष्ठाने अनुसन्धानमा एकरुपता कायम गर्न र आफ्नै मौलिकपनको विधि बनाउने योजना रहेको जानकारी गराउनुभयो । विगतमा कोभिड–१९ का कारण कार्यक्रम अधुरै रहेको सुनाउँदै उहाँले आवश्यक परे अनुसन्धान कार्यशाला गोष्ठी नै आयोजना गर्ने गरी अघि बढेको बताउनुभयो । उहाँले आजको वेबिनारमा प्राडा भट्टराईको कार्यपत्रले महत्वपूर्ण खुराक दिएको भन्दै प्रशंसा गर्नुभयो ।
समारोहमा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेलले संस्था वा विश्वविद्यालयमा अनुसन्धान पद्धतिको आआफ्नै शैली रहेको सुनाउनुभयो । उहाँले नेपालमा अन्तरराष्ट्रिय रुपमा प्रचलित शैलीको अनुशरण गरिएको स्पष्ट पार्दै भन्नुभयो, “विज्ञबाट नेपालको आफ्नै अनुसन्धान पद्धति विकासका लागि सुझाव आएको छ, तर गर्न सकिएको छैन ।”
शीर्षक निर्धारण गर्दा नै समस्याको कथनलाई राम्ररी बुझन् नसकेको, उद्देश्य निर्धारण, सिमाङ्कन गर्न नसकिएको, सही रुपमा सैद्धान्तिक आधार प्रस्तुत हुन नसकेको, आवश्यक प्राविधिक पक्षको समेत ज्ञान नभइरहेकाले वेभिनारमार्फत जानकारी दिने प्रयास गरिएको बताउनुभयो । उक्त समारोहमा अनुसन्धान पद्धतिका विषयमा विभिन्न जिल्लाबाट सहभागीले उठाएका जिज्ञासाको कार्यपत्र प्रस्तुतकर्ता प्रा डा भट्टराईले जवाफ दिनुभएको थियो ।रासस


