जातीय छुवाछूतको सिकार बनेकी सञ्चारकर्मी रुपा सुनारलाई सुरक्षा दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
सञ्चारकर्मी सुनारले आफूमाथि जातीय छुवाछुत गर्ने घरबेटीलाई राज्य शक्तिको दुरुपयोग गर्दै हिरासतबाटै अनुसन्धानकै क्रममा अभियुक्तलाई छुटाइएको भन्दै तत्कालीन शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठमाथि कारबाही माग लिएर सर्वोच्च अदालत पुगेकी थिइन् ।
बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठविरुद्ध रुपा सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन आदेश दिएको हो ।
सर्वोच्चले सुनारको पक्षमा चार बुँदे आदेश दिएको छ । रुपा सुनार प्रकरणमा सर्वोच्च अदालतले पच्चीस दिनभित्र निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आदेश जारी गरेको छ । त्यस्तै उनको जिउ ज्यानको सुरक्षाको लागि समेत प्रहरी प्रधान कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई पत्राचार गर्न ओदश दिएको छ ।
दलित भएकै कारण घरभेटी सरस्वती प्रधानले आफूलाई कोठा नदिएको भन्दै सुनारले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि उनलाई प्रहरीले असार ६ गते पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । तर सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै छोड्न भनेपछि उनलाई असार ९ गते छोडिएको थियो । उनी रिहा हुने क्रममा तत्कालीन शिक्षामन्त्री श्रेष्ठ सरकारी गाडीसहित महानगरीय प्रहरी वृत्त सिंहदरबार परिसर पुगेका थिए ।
.jpg)


