काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले देश भित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताए ।
प्रधानमन्त्री दाहालले भने,‘देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको छ।’ ,‘सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिनै पर्दछ।’
उनले नेपाललाई मेडिकल शिक्षाको हबका रुपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको बताए । प्रधानमन्त्री दाहालले स्वास्थ्य क्षेत्रमा दिनप्रतिदिन नयाँ नयाँ चुनौतीहरू देखा परिरहेको बताउदै स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्याउन आवश्यक रहेको उल्लेख गरे ।
‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,’ दाहालले भने,‘अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ।’
उनले नेपालको अधिकांश भूभाग ग्रामीण क्षेत्र रहेको र ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्ने र स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म बिस्तार गर्दै जानुपर्ने आवश्यकता रहेको बताए ।


