काठमाडौं । चलचित्र ‘जेरी अन टप’ को शुभमुहूर्त गरिएको छ।
सोमबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो। शुभमुहूर्तको सेटमा अनमोलसहित चलचित्रका कलाकार जसिता
गुरुङ, आँचल शर्मा,विपना थापा, केदार घिमिरे ‘माग्ने बूढा’ निर्मल शर्मा लगायतको उपस्थिति थियो।
काठमाडौंसहित लुक्ला र भारतको लद्दाखमा हुने चलचित्रको छायांकन सेड्युल ५० दिनको रहेको निर्माणटिमले जनाएको छ। अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा बन्ने चलचित्रको निर्माता सरोज न्यौपाने हुन्।
सुयोग गुरुङको निर्देशनमा बन्ने यस चलचित्रमा सुरक्षा पन्त, भुवन केसी लगायतको अभिनय रहनेछ। चलचित्रमा भुवन अनमोलको बुवाको रुपमा देखिँदा विपना भने आमाको भूमिका निर्वाह गर्देछिन्।
प्रेमकथामा बन्ने चलचित्र भ्यालेन्टाइनको डेको अवसरमा फागुन २ गतेबाट रिलिज हुनेछ।


