काठमाडौं । प्रतिकूल मौसमका कारण देशको हवाई उडान सामान्य प्रभावित भएको छ ।
मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवाँलोका कारण हवाई उडान हुन सकेको छैन ।
काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर)उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौँबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन । देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बङ्गाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
.jpg)


