काठमाडौं । अभिनेता सौगात मल्लको मुख्य भुमिकामा रहेको नेपाली चलचित्र‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ ।
सोमबार टिजर सार्वजनिक गर्दै रिलिज मिति आगामी पुस ५ गतेलाई तोकिएको हो ।
टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ । शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन । शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने भाष्य स्थापित गर्न खोजिएको छ ।
बम बहादुर एउटा सन्देशमूलक कथा र ऐतिहासिक सङ्घर्षलाई चित्रण गर्ने नेपाली चलचित्र हो, जसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूलाई उजागर गर्दछ ।
बम बहादुर मनोरञ्जनात्मक मात्र नभई सन्देशमूलक कथा पनि रहेको र यसले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्स, र सोसल ड्रामाको अनुभव गराउने बताइएको छ ।
बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्लको साथमा कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको अभिनय रहेको छ ।
‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस फिल्मको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् । यो चलचित्र नेपाल र भारतमा एकै दिन रिलिज हुँदैछ ।


