काठमाडौं । चलचित्र ‘होस्टेल ३’ को पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा अलमोडा राणा उप्रेतीको शब्द रचना, संगीत र गायन छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेताहरु पारस बम (कुल ब्वाई), रिहान गिरि, आशिष घिमिरे र पदम तामाङ तथा अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुली चित्रित छन् ।
आगामी फागुन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई सशान कँडेलले निर्देशन गरेका हुन् ।
चलचित्रमा सशान स्वयंको कथा छ भने माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् । उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुष लगायतको पनि अभिनय रहेको चलचित्रले क्याम्पस जीवनका सङ्घर्ष, मित्रता र रमाइलो क्षणलाई देखाउनेछ ।
सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सले निर्माणमा सहकार्य गरेको चलचित्रका निर्माताहरु सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने कार्यकारी निर्मातामा शङ्कर कोइराला छन् ।


