शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र'लाज शरणम्’को सेन्सर पास,पायो ‘युनिभर्सल सर्टिफिकेट’

एक्सप्रेस पाना
फाल्गुण ११, २०८१ आइतबार
  • 279
    SHARES
  • चलचित्र'लाज शरणम्’को सेन्सर पास,पायो ‘युनिभर्सल सर्टिफिकेट’

    काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ सेन्सर पास भएको छ ।

    images

    केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई ‘युनिभर्सल सर्टिफिकेट’ दिँदै सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेगरि पास गरेको हो ।

    उच्च अदालत पाटनमा मुद्दा परेपछि चलचित्र प्रदर्शन हुने नहुने अन्योलता थियो । पूर्वमन्त्री मोहम्मद अफताब आलमले चलचित्रमा आफ्नो चरित्रलाई तोडमोड गरी प्रस्तुत गरिएको दाबी गर्दै अदालतमा अन्तरिम आदेश माग गरेका थिए । अदालतले चलचित्रको स्क्रिप्ट र श्रव्यदृश्य अध्ययन गर्ने आदेश दिएपछि यसको प्रदर्शन मिति अन्योलमा परेको थियो ।

    images

    तर, सेन्सर बोर्डले चलचित्रलाई पास गरेसँगै अब पूर्वनिर्धारित मितिमा नै प्रदर्शन हुने पक्का भएको छ । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

    ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

    ‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘कक्रोज’, सागर लम्साल ‘बले’ प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारको अभिनय रहेको छ ।

    जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।
    ‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । फागुन १४ गते महाशिवरात्रीको दिन यो चलचित्र रिलिज हुनेछ ।

  • सम्बन्धित विषय:

  • # चलचित्र 'लाज शरणम्