काठमाडौं । महाशिवरात्रि हिन्दु धर्मको एक प्रमुख पर्व हो, जुन प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ । महाशिवरात्रि शब्दको अर्थ हो शिवको महान रात। यस दिन भगवान शिवको ध्यान र साधनामा बिताइन्छ । रातभर शिवको उपवासा गरेर पूजा गर्नाले भक्तजनलाई मोक्ष प्राप्तिको मार्ग प्रशस्त हुने विश्वास रहि आएको छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु यस दिन नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन्।
महाशिवरात्रिका दिन शिवलिंगमा भगवान् शिवको प्रिय वस्तु दूध, घ्यू,धतुरो र बेलपत्र चढाएर 'ॐ नमः शिवायु मन्त्रको जप गर्नुका साथै भगवान शिवको महिमा र शक्तिको ध्यान गरेर, भक्तजनहरूले आत्मिक शान्ति र पवित्रता प्राप्त गर्ने विश्वास रहि आएको छ ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ।
महाशिवरात्रिको रातलाई विशेष गरी 'शिवको रात' भनिन्छ, जसमा भगवान शिवको ध्यान र साधना गर्न अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यस दिनको पूजा र साधनाले भक्तजनलाई पापबाट मुक्ति, सुख, समृद्धि र जीवनका कष्टहरूबाट छुटकारा प्राप्त हुने विश्वास रहि आएको छ । महाशिवरात्रि भगवान शिवको ऊर्जा र शक्तिको अनुभूति गर्नको लागि एक उपयुक्त अवसर हो।
फागुन कृष्ण चतुर्दशीमा मनाइने यस पर्वमा सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शङ्कर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्नेछन् भन्ने मान्यता पनि पुराणमा पाइन्छ।
शास्त्रअनुसार, महाशिवरात्रि भगवान शिवको विवाहको दिन पनि हो, र यस दिनको उपवास र पूजा द्वारा भक्तजनहरूले पुण्य प्राप्त गर्न सक्छन्। यस दिनको व्रतले संसारका सबै पाप धुलाईन्छ र व्यक्ति को जीवनमा सुख, समृद्धि र मोक्षको मार्ग खोल्न सहयोग पुर्याउने विश्वास रहेको छ ।
महाशिवरात्रिको दिन भगवान शिवलाई त्रिनेत्रधारी, महाकाल, र विश्वनाथको रूपमा पूजा गर्ने परम्मपरा रहेको छ। महाशिवरात्रि नेपाल र भारतमा विशेष रुपमा मनाइन्छ भने विश्वभरका हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई श्रद्धाका साथ मनाउँदै आएका छन् । यस अवसरमा भारत लगायत विश्वको विभिन्न स्थानहरूबाट जोगी, योगी एवं भक्तजन पशुपति मन्दिरमा आउँछन्।
यस दिन काठमाडौको पशुपतिनाथ, भक्तपुर, ललितपुर लगायत देशका विभिन्न शिवालयहरुमा भगवान शिवको भक्तीभाव र विशेष पूजा आरधना गर्नेहरुको घुइचो लाग्ने गर्दछ ।
पशुपतिनाथ:भगवान शिवको पवित्र मन्दिर
काठमाडौंस्थित पशुपतिनाथ मन्दिर एक प्रमुख हिन्दू धार्मिक स्थल हो। पशुपतिनाथ मन्दिर पवित्र बागमती नदीको किनारमा अवस्थित छ, जुन विश्वका चार महत्वपूर्ण शिव मन्दिरहरू मध्ये एक हो। पशुपतिनाथ मन्दिर हिन्दू धर्ममा अत्यन्त पवित्र र प्रतिष्ठित मानिन्छ । यसलाई भारतका काशी विश्वनाथ मन्दिरसँग तुलना समेत गरिएको छ।
बिशेषगरी महाशिवरात्रिका दिन नेपाल तथा भारतबाट आएका लाखौं श्रद्धालुहरू जम्मा भएर पशुपतिनाथ मन्दिरमा विशेष पूजा, भजन, आरती र यज्ञ गर्ने चलन रहेको छ ।
पशुपतिनाथ मन्दिरमा हरेक बर्ष महाशिवरात्रिको अवसरमा विशेष अनुष्ठान गरिन्छ, जसले भक्तजनलाई आध्यात्मिक शान्ति र आन्तरिक पवित्रता प्राप्त गर्न मद्दत पुर्याउँछ। यस पवित्र स्थलमा महाशिवरात्रि मनाउँदा, भक्तजनहरूले भगवान शिवको आशीर्वाद प्राप्त गर्ने विश्वास रहि आएको छ भने यस दिनको पूजा र ध्यानले भक्तजनलाई मानसिक शान्ति र भौतिक र आध्यात्मिक शुद्धता ल्याउन मद्दत गर्दछ।
पशुपतिनाथ मन्दिरको धार्मिक महत्त्व मात्र नभएर सांस्कृतिक र ऐतिहासिक महत्त्व पनि अत्यन्त महत्वपूर्ण छ। यहाँको शान्त वातावरण र दिव्य स्थानले प्रत्येक भक्तजनलाई गहिरो आध्यात्मिक अनुभव दिलाउँछ। यो मन्दिर नेपालका प्रमुख तीर्थ स्थलमध्ये एक हो र यहाँको दर्शनले जीवनको पवित्रता र धर्मको महिमा सम्झाउँछ।
.jpg)


