आइतबार, कार्तिक १६ गते २०८३
images
images

सदावहार गोदावरी:जहाँ घुम्न मौसमलाई वाधक मानिदैन

एक्सप्रेस पाना
आषाढ २६, २०८२ बिहीबार
  • 281
    SHARES
  • सदावहार गोदावरी:जहाँ घुम्न मौसमलाई वाधक मानिदैन

    काठमाडौं । काठमाडौं उपत्यकाको दक्षिणपूर्व भेगमा अवस्थित गोदावरी शान्त वातावरण, हरियाली, जैविक विविधता र मनोरञ्जनको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।

    images

    ललितपुर जिल्लामा पर्ने यो स्थान राजधानीवासीका लागि सप्ताहन्त मात्र होइन, हप्ताको सातै दिन भ्रमणका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ । उपत्यकाको व्यस्त जीवनशैली र धुँवा धुलोबाट केही क्षण आनन्द लिन मानिसहरु गोदावरीतिर जाने गरेका छन् । 

    गोदावरीको हरियाली, चराचुरुङ्गीको चिरबिर आवाज, रङ्गीचङ्गी फूलहरू, त्यहाँ निर्माण गरिएका चित्र र शैक्षिक सामग्रीहरूले सबैलाई आकर्षित गर्ने गरेको छ । यहाँ सर्बसाधारण मात्र होइन, विभिन्न विद्यालय र कलेजका विद्यार्थी पनि शैक्षिक भ्रमणका लागि आउने गरेका छन ।

    images

    यस्तै भ्रमणमा बुधबार रेडन कलेजका कक्षा ११ र १२ का बायोलोजी विषय अध्ययनरत ५१ जना विद्यार्थी र शिक्षकहरूको टोली पनि पुगेको थियो । उक्त टोलीकी एक छात्रा रेसु श्रेष्ठ भन्छिन्,‘हामी अध्ययनसँग सम्बन्धित अवलोकनका लागि आएका हौँ, यहाँको वातावरणले पढाइमा सहयोग पु¥याउँछ ।’

    त्यस्तै अर्का छात्रा समिर धिताल भन्छन,‘म दोस्रोपटक गोदावरी आएको हुँ, तर जति पटक आए पनि यहाँ कहिल्यै मन भरिँदैन, सँधै नयाँ अनुभव मिल्छ ।’

    ‘शान्त बातावरणमा सकारात्मक विचार सिर्जना गर्नका लागि पनि आउनुपर्छ जस्तो लाग्छ । पढाइलाई समेत टेवा पुग्ने भएकाले हामीलाई कलेजबाट नै भ्रमणमा ल्याएको हो । यहाँ देखेका दृश्यहरुले हामीले नयाँ कुरा सिक्ने मौका मिल्छ,’ धितालले भने । 

    विदाको सदुपयोग गर्न गोदावरी पुगेकी रोशनी रावल भन्छिन्,‘यहाँको शान्त वातावरणले मानसिक रुपमा पनि शान्ति मिल्छ । सहरी जीवनको तनावबाट मुक्त भइ सकारात्मक सोच उत्पन्न हुन्छ ।’ उनी फुर्सदको समयमा घुम्न जाने पहिलो रोजाइमा गोदावरी पर्ने बताउँछिन् ।

    घुम्न आउने पर्यटकलाई पोलिएको मकै खुवाउने रामबहादुर तामाङ गोदावरीमा साना व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन् । ‘कहिले नाफा, कहिले घाटा पनि हुन्छ, तर मकै बेचेरै जिविका चलाइरहेको छु,’ उनले भने । उनी एक घोगा मकै ३५ रुपैयाँमा बेच्ने गर्छन् ।

    आकर्षक र पर्यटकीय सम्भावनाले भरिएको गोदावरीको अझ व्यवस्थित विकास र प्रचारप्रसार गर्न सके यसले नेपालको आन्तरिक पर्यटन र अर्थतन्त्रमा समेत उल्लेख्य योगदान दिन सकिनेछ् । जुनसुकै महिनामा पनि गोदावरी घुम्नका लागि मानिसहरुको भीड लाग्ने गरेको छ ।  

    नेपालमा विज्ञान तथा वनस्पतिका सम्बन्धमा अध्ययन–अनुसन्धान गर्न गोदावरीमा राष्ट्रिय वनस्पति उद्यान स्थापना गरिएको हो । राणाशासक चन्द्रशमशेर युरोपबाट फर्किएपछि उक्त उद्यान निर्माण गर्ने प्रारम्भिक कार्य सुरु भएको थियो, जहाँ चरा तथा दुर्लभ वनस्पतिहरू अवलोकन गर्न पाइन्छ ।

    यो वनस्पति विज्ञानका विद्यार्थीहरूका लागि महत्वपूर्ण स्थान हो । यहाँ १ लाख ५० हजारभन्दा बढी वनस्पतिका नमुना संग्रहित रहेको बताइन्छ । विश्वका विभिन्न देशबाट नेपाल घुम्न आएका राष्ट्रप्रमुखहरूले यो उद्यानमा पुगेर वृक्षरोपण गर्ने गरेको पाइन्छ ।

    यहाँ नेसनल हर्वारियम एन्ड प्लान्ट ल्याबोरेटरी पनि छ । शान्तिवन र गोदावरी कुण्ड गोदावरीको आकर्षण हो । गोदावरी वनभोज खान तथा घुम्न आउनेहरूको प्रमुख गन्तव्य हो । 

  • सम्बन्धित विषय:

  • # गोदावरी