आइतबार, कार्तिक १६ गते २०८३
images
images

फोहरलाई मोहरमा बदल्दै गलकोट    

एक्सप्रेस पाना
श्रावण ७, २०७८ बिहीबार
  • 308
    SHARES
  • फोहरलाई मोहरमा बदल्दै गलकोट    

    विसं २०७३ मा स्थापना भए पनि गलकोट नगरपालिका मध्यपहाडी लोकमार्गको बीच भागमा पर्ने भएकाले चल्तीको पालिकामा पर्दछ । पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ । उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेत विस्तारै शहरमा परिणत हुँदै आएका छन् ।

    images

    बढ्दो शहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेको छ । नगरपालिकामा फोहर व्यवस्थापनका लागि जग्गा अभावले लामो समयदेखि समस्या थियो तर पछिल्लो समय नगरपालिकाले जग्गा भाडामा लिएरै फोहरलाई मोहरमा बदल्न थालेको छ ।

         galcoat.jpg
         
    यसअघि हटिया बजारको फोहर गौदीखोलामा फालिँदै आइएको थियो । बजारकै छेउमा फोहर फाल्दा बजार क्षेत्रनै दुर्गन्धित भएको भन्दै जनस्तरबाट नगरपालिकालाई फोहर व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्न आग्रह हुँदै आएको थियो । नगरपालिकाले जग्गा अभावमा फोहरको डम्पिङ साइट खोज्न नसके पछि जग्गा भाडामा व्यवस्थापन गरेर अहिले फोहर प्रशोधन केन्द्र स्थापना गरेको छ । गलकोट–९ स्थित दरमखोला किनार नजिकै जग्गा व्यवस्थापन गरी फोहर प्रशोधन उपकरण जडानसमेत गरिसकिएको छ ।  

    images

      
         
    कोरोना कहरका कारण फोहर प्रशोधनमा कर्मचारी खटाउन समस्या भएको र आगामी दुई महिनाभित्रै नगरपालिकाले फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । फोहर व्यवस्थापनका लागि लामो समयको प्रयत्न र पहलमा हटिया बजारभन्दा केही पर वडा नम्बर ९ मा तीन रोपनी जग्गा मासिक रु २० हजार भाडा तिर्ने गरी व्यवस्थापन गरिएको जग्गामा पूर्वाधार निर्माण गरिएको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

    “फोहर फाल्ने डम्पिङ साइट पाएनौँ, त्यसैले केही उपकरण खरिद गरेर फोहर प्रशोधन गरी बिक्री गर्ने नगरपालिकाको नीतिअनुसार प्रशोधन केन्द्रको पूर्वाधार निर्माणसँगै उपकरण जडान भएको छ”, नगर प्रमुख शर्मा गैरेले भन्नुभयो, “भाडामा जग्गा लिएर कुहिने फोहर व्यवस्थापन र नकुहिनेलाई प्रशोधन गरी प्याकिङ गरेर बिक्री गर्ने काम अघि बढेको छ, अब सबै तयारी सकिएकाले छिट्टै सञ्चालमा ल्याउने तयारी छ ।”     
         
    नगरपालिकाले तीन रोपनी जग्गामा सडक पु¥याउने, विद्युतीकरण गर्ने, ट्रस हाल्नेलगायतका पूर्वाधार निर्माणमा रु २३ लाख र उपकरण खरिद तथा जडानमा रु १० लाख खर्च गरिसकेको प्रशासकीय अधिकृत तुलबहादुर विश्वकर्माले जानकारी दिनुभयो । अहिले नगरपालिकाले एउटा ट्र्याक्टरमा फोहर सङ्कलन गर्दै आएको छ । जिल्लामै तीव्र शहरीकरण भएको स्थानमा पर्ने गलकोटमा घर थपिँदै गए पछि फोहर व्यवस्थापनमा चुनौती बढ्दै गएको हो । सङ्कलित कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिने छ ।     
         
    कुहिने फोहरको मल बनाइनेछ भने नकुहिने फोहरलाई टुक्राउने, धूने र पुनः प्रयोगका लागि बिक्री गरिनेछ । नगरपालिकाले फोहर व्यवस्थापनमा लाग्ने सबै खर्च फोहर प्रशोधनपछि बिक्री गरेर उठाउने लक्ष्य राखेको छ । नगरपालिकामा सार्वजनिक जग्गा अभाव रहेका कारण व्यक्तिको जग्गा खरिद गर्दा निकै महँगो भएपछि भाडाको जग्गामा फोहर व्यवस्थापन गर्न थालिएको हो । फोहरलाई मोहर बनाएर बिक्री गर्ने योजना नगरपालिका स्थापना भएको पाँच वर्षमा पूरा हुन थालेको नगरपालिकाले जनाएको छ । गलकोटमा जग्गा अभावकै कारण बसपार्क नहुँदा सडकमै सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ । रासस