काठमाडौं । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापाको निधन भएको छ।
शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत अवस्थामा उनको मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् ।
शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले दर्जनौँ नेपाली र भारतीय चलचित्रमा अभिनय गर्दै आफ्नो अलग पहिचान बनाएका थिए ।
थापाको निधनप्रति कलाकार तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरिरहेका छन्। कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै नेपाली फिल्म उद्योगले एक महत्वपूर्ण व्यक्तित्व गुमाएको उल्लेख गरेका छन्।


