आइतबार, भाद्र २८ गते २०८३
images

किसानको पीडा नबिर्सिएको दाबी गर्दै मन्त्री चौधरीले भनिन् : मलको विकल्प खोज्नुपर्छ

एक्सप्रेस पाना
जेठ १, २०८३ शुक्रबार
  • 121
    SHARES
  • किसानको पीडा नबिर्सिएको दाबी गर्दै मन्त्री चौधरीले भनिन् : मलको विकल्प खोज्नुपर्छ

    काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको छ ।

    images

    समितिको छलफलमा बोल्दै कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले सरकारले यसपटक नीति तथा कार्यक्रम निर्माणका क्रममा पर्याप्त छलफल गर्न नसकेको स्वीकार गर्दै अहिले मुख्य ध्यान मल व्यवस्थापनमा केन्द्रित रहेको बताइन् ।

    उनले भनिन्, ‘हामीले यसपटकको नीति तथा कार्यक्रम बनाउँदा तपाईहरूसँग धेरै छलफल गर्न पाइएन होला, तर हामीले हाम्रो सारा प्रयास मलमा लगाइरहेका छौं । हामीले अर्गानिक खानुपर्छ पनि भन्छौं र मल पनि चाहिन्छ भन्दै आफ्नै कुरा काटिरहेका छौं । राज्यको आन्तरिक कारणले मात्र होइन, विश्वव्यापी परिस्थितिका कारण पनि धेरै कुरा गर्न सक्ने अवस्था छैन । हाम्रोमा मात्र होइन, धेरै देशहरूले, भारतले समेत ऊर्जा संकट घोषणा गरिसकेको छ ।’

    images

    मन्त्री चौधरीले कृषि क्षेत्र र किसानका समस्या आफूले नजिकबाट बुझेको उल्लेख गर्दै किसानको पीडा कम गर्ने दिशामा सरकार गम्भीर भएर लागिरहेको बताइन् ।

    उनले भनिन्, ‘आजको भोलि परिवर्तन नहोला, तर मैले किसानको पीडा भुलेको छैन । मेरा बुवाआमा आज पनि खेती गर्नुहुन्छ । कृषि क्षेत्र र किसानका समस्याहरू के छन् भनेर त्यसमा कसरी काम गर्ने भन्ने विषयमा हामी गम्भीरतापूर्वक लागिरहेका छौं ।’

    उनले विगतका सकारात्मक कार्यक्रम हटाउने नभई तिनको समीक्षा गर्दै सुधारका साथ अघि बढ्ने बताइन् । कृषि ऐन र नीतिगत संरचनामा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले यसका लागि सरोकारवालाको सुझाव आवश्यक रहेको धारणा राखिन् ।

    मन्त्री चौधरीले रासायनिक मलको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याउँदै अहिले मलमा भइरहेको अर्बौं लगानी किसानको उत्पादन बिक्री वितरण र बजार व्यवस्थापनमा प्रयोग गर्न सकिने बताइन् ।

    उनले भनिन्, ‘मलको विकल्प खोज्नुपर्छ अब । जुन ५०–६० अर्ब रकम मलमा लगानी गरिरहेका छौं, त्यो अन्य क्षेत्रमा पनि प्रयोग गर्न सक्छौं, जसले किसानको बिक्री वितरणमा सहजीकरण गर्न सक्छ र किसानलाई उचित मूल्य दिन सक्छ ।’
    सरकार र जनताबीच सही सूचना प्रवाह आवश्यक रहेको उल्लेख गर्दै उनले सञ्चार माध्यम र जनप्रतिनिधिहरूले पुलको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् ।

    त्यसैगरी, सांसद आशिका तामाङले बाल्यकालमा आफ्ना बुवाले उत्पादन गरेको तरकारी बिक्री नभएपछि बागमतीमा फाल्नुपरेको घटना सम्झिँदै किसानको पीडा अझै कायम रहेको बताइन् ।

    उनले भावुक हुँदै भनिन्, ‘पहिले मात्र होइन, अहिले पनि केही गर्छु भन्नेलाई मर्का छ । हरेक पटक सामाजिक सञ्जालमा जिउँदै कुखुराका चल्लाहरू गाडिरहेका दृश्य देखिरहेको छु । चल्लाहरू विषादी भयो भनेर जिउँदै गाडिरहेका छन् ।’

    उनले किसानले उत्पादन नष्ट हुँदा ठूलो मानसिक पीडा भोग्नुपर्ने भन्दै कृषि तथा पशुपालन क्षेत्रमा बीमा र क्षतिपूर्तिको सुनिश्चितता हुनुपर्ने माग गरिन् ।
    यस्तै, समिति सभापति अशोक कुमार चौधरीले बैठकमा उठेका विषय गम्भीर र सान्दर्भिक रहेको उल्लेख गर्दै मलको सुनिश्चित आपूर्ति सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।

    उनले भने, ‘आजको बैठकमा निकै गम्भीर र सान्दर्भिक विषयहरू उठेका छन् । यो बैठकले जनताको माग र मुद्दालाई सम्बोधन गर्ने गरी परिणाम दिनेछ । असारमै मल पु¥याउने कुरा उठेको छ, मन्त्रीज्यू यही हुनुहुन्छ, यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । मलको सुनिश्चितता हुनैपर्छ ।’

     

  • सम्बन्धित विषय:

  • # गीता चौधरी