आइतबार, कार्तिक १६ गते २०८३
images
images

कृषिमा यान्त्रिकरण : गोरु कुद्ने खेतबारीमा मिनी टेलर हलो

एक्सप्रेस पाना
मंसिर ७, २०७८ मंगलबार
  • 549
    SHARES
  • कृषिमा यान्त्रिकरण : गोरु कुद्ने खेतबारीमा मिनी टेलर हलो

    मंसिर ७ बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-२ सिम निवासी थमबहादुर आलले यसवर्ष गहुँ छर्ने मेलो जोत्न मिनी टेलर हलोको प्रयोग गरे । छोराहरू जागिरको सिलसिलामा घर बाहिर भएको हुँदा उनले पाल्दै आएको हल गोरु बेचेर जोत्नलाई मिनी टेलर प्रयोग गरेका हुन् । 

    images

    विगतका वर्षहरूमा खेतीपातीको लागि उनको कृषि समूहमा एक हल गोरु थियो । यसवर्ष दुवै जनाले गोरु बचे । जोत्ने विकल्पको रूपमा मिनी टेलरलाई रोजे । ‘घरमा केटाकेटी छैनन्, बुढाबुढीले के-के पाल्ने’, आलेले भने, ‘छिटो मिठो मिनी टेलर हुनेरैछ ।’ खनजोतको दुःख, खेतालालाई खाजा सबै खर्चको जोडजाम गर्दा गोरुको प्रयोगभन्दा मिनी टेलर सस्तो पर्ने उनको भनाइ छ ।  

    गाउँमा घण्टाको ६०० रुपैयाँ तिरेर जोत्ने गरेको सोही गाउँकी कौशिला विकले बताइन् । गाउँमा सीमित कृषकहरूले मात्रा गोरु पालेको हुँदा मिनी टेलर नै उक्त विकल्प भएको विकको भनाइ छ । ‘अहिले गोरु पाउनै मुस्किल छ’,  विकले भनिन्, ‘गोरुले नै जोत्ने गरी पर्खने हो भने समय ढल्किन्छ ।’

    images

    अहिले गाउँगाउँका खेतबारीमा हल गोरुभन्दा मिनी टेलर हलोको प्रयोग देख्न सकिन्छ । काम गर्न छिटो, सजिलो र सस्तो हुनुका साथै कम जनशक्तिमा धेरै काम गर्न सकिने हुँदा प्रविधि प्रयोगमा कृषकहरू आर्षित भएका छन् ।

    ‘गोरुको प्रयोग गरेर गहुँ छर्दा जोत्ने र खन्ने गर्नुपर्छ’,  विकले भनिन्, ‘मिनी टेलरले जोत्दा खन्नु पर्दैनन्, माटो मसिनो बनाएर जोत्ने रैछ ।’

    कृषि ज्ञान केन्द्र बागलुङले पनि कृषिमा यान्त्रिकरणमा जोड दिएको छ। कार्यालयले गतवर्ष जिल्लाभरका ४१ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर हलो वितरण गरेको थियो । चालु आर्थिक वर्षमा पनि कृषि यान्त्रिकरण शीर्षकमा १५ लाख रुपैयाँ विनियोजन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत कुमार पुनले जानकारी दिए ।

    कृषकको आवश्यकताको आधारमा आवश्यक कृषि औजार वितरण गरिने उनले बताए । योवर्ष २६० वटा आवेदन परेका छन् । उक्त आवेदनको आधारमा आवश्यकता हेरी कृषि औजार वितरण गर्ने उनको भनाइ छ । युवा जनशक्ति विभिन्न कारणले गाउँ बाहिर भएपछि गाउँघरमा मिनी टेलर हलोको माग बढी हुने उनले बताए ।न्युज कारखाना