आइतबार, कार्तिक १६ गते २०८३
images
images

 पर्यटकीय गन्तव्य बन्दै कोप्रे झरना  

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 617
    SHARES
  •  पर्यटकीय गन्तव्य बन्दै कोप्रे झरना  

     –धु्रबसागर शर्मा    
    म्याग्दीको सदरमुकाम बेनी बजारबाट नजिकै रहेको कोप्रे झरना एकाएक चर्चामा आएको छ ।     
         
    दुई वर्ष अघिसम्म गुमनाम रहेको कोप्रे झरना कोरोना महामारी शुरु भएपछि एकाएक चर्चामा आएको हो । कोरोना प्रकोप शुरु भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण घुमफिर र रमाइलोका लागि टाढा टाढा जान सक्ने वातावरण नहुँदा नजिकका सम्भावित स्थलको खोजी हुने क्रममा कोप्रे झरनाको पहिचान भएको हो ।     
         
    नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएका बेनी नगरपालिका– २ बगरफाँटको दुधे खोला नजिक रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै गएको छ । यो झरना विशेषगरी युवा युवतीको आकर्षक स्थलका रुपमा विकसित हुँदै गएको छ । कोरोना सङ्क्रमण र त्यसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाबाट तनावग्रस्त भएका युवायुवतीलाई तनावमुक्त गराउने स्थानको रुपमा यो झरना उत्कृष्ट बन्दै गएको छ ।     
         
    नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको हो । बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु समेत पुग्ने गर्छन् । यस झरनाको भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनको समयमा भेटिएको झरना पनि भनेर चिन्ने गरेका छन् । लकडाउनको समयमा घरभित्रै बस्न बाध्य भएका सर्वसाधारण तथा व्यस्त दैनिकीबाट ग्रसित मानिसहरु एकैछिन भए पनि कोप्रे झरनामा रमाएर फर्कन्छन् ।     
    उहाँका अनुसार शनिवार वा अन्य विदाको दिन कर्मचारी, व्यापारी लगायत व्यक्तिहरु पनि यहाँ रमाउन आउने गर्दछन् । विशेषगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु आउने गरेको र यहाँ आएर घुम्ने, फोटो खिच्ने र रमाउने गर्दछन् । यस झरनामा पछिल्लो पटक कोरोना भाइरसका कारण जारी निषेधाज्ञाको बीचमा घुम्नेहरुको सङ्ख्या ह्वातै बढेको छ ।     
         
    बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्दको महसुस गर्न पाएको बेनीकी सलिना रोकाले बताउनुभयो । “झरनाको पानीले पानी पानी बनायो, खुब मज्जा आयो”, उहाँले भन्नुभयो । रोका मात्रै होइन, दैनिक एक सय भन्दा बढी युवायुवती यहाँ आएर फोटो खिच्ने, टिकटक बनाउने र रमाउने गर्दछन् । कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुने गर्दछ । यस झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकले ‘वर्षे झरना’ भनेर नामाकरण गरेका छन् ।     
         
    भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । घाम लागेको समयमा इन्द्रेणी पर्ने झरनाले पर्यटकलाई लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकको अनुभव छ । कोपे्र झरनामा कतिपय युवायुवती टिकटक बनाउनकै लागि भए पनि पुग्ने गरेका छन् । यस झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि चालू आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको ज्यामरुककोटका वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।     
         
    उत्तरतर्फ म्याग्दी नदी, पूर्व र पश्चिमतर्फ धानको हरियाली फाँट, दक्षिणतर्फ घना जङ्गल रहेको यो ठाउँ प्राकृतिक सुन्दरताले पनि अत्यन्त आकर्षक रहेकाले यसलाई आन्तरिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको उहाँको भनाइ छ ।रासस      
       

    images