कमल बिक्रम जिसी, काठमाडौँ । लामो समयदेखी रोकिएको शिक्षक सेवा आयोगको स्थायी दरबन्दी खुल्ला हुने भएको छ । शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा लागेको हो । प्रत्येक छ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन। सोही कारण शिक्षण अनुमति अध्यापनपत्र लिएर बसेका सात लाख १७ हजार एक सय पाँच नयाँ जनशक्ति प्राथमिक तहदेखि माध्यमिक तहसम्म विद्यालय शिक्षण प्रवेश गर्नबाट वञ्चित भएका छन् ।
आयोगका पदाधिकारी नियुक्ति भएसँगै आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीको प्रमुख दायित्व नयाँ शिक्षक स्थायी दरबन्दीमा विज्ञापन खुलाउनु रहेको छ। अध्यक्ष रेग्मीले आयोग एक वर्षयता पदाधिकारीविहीन अवस्थामा रहेकाले थुप्रै पुराना काम बाँकी रहेको कारण समग्र विद्यालय शिक्षालाई नै नकारात्मक असर परिरहेको बताउँछन्। शिक्षाको गुणस्तर मध्यनजर गर्दै स्थायी दरबन्दीमा पदपूर्ति गर्न लागिएको बताइएको छ ।

