भदौ ९ काठमाडौं । नेकपा विभाजन भएसँगै तीव्र विवाद र फुटको सँघारमा पुगेको एमाले करिब ८ महिनापछि एकताको लयमा फर्किएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताको प्रक्रियामा गएका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका मुख्य र निर्णायक हिस्सालाई एमालेमा नै समाहित गरी वडादेखि केन्द्रसम्मको महाधिवेशन गर्ने निर्णय गरेका छन् ।
अध्यक्ष ओलीको अध्यक्षतामा एमालेको मंगलबार सम्पन्न स्थायी कमिटीको बैठकले पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउँदै जिल्लादेखि केन्द्रसम्मका अधिवेशन गर्ने निर्णय गरेको हो । जसअनुसार एमालेको १०औं महाधिवेशन आगामी मंसिर १० देखि १३ सम्म काठमाडौंमा हुने भएको छ । बैठकसँगै नेपाल समूहमा रहेका शक्तिशाली मानिएका १० जना स्थायी कमिटी सदस्य पनि एमालेमा नै समाहित भएका छन् ।
यद्यपि, एमालेका वरिष्ठ नेता नेपाल अर्का वरिष्ठ नेता झलनाथ खनाललगायतले भने नेकपा एकीकृत समाजवादी नामक नयाँ पार्टी दर्ता प्रक्रिया थालिसकेकाले त्यसको असर एमालेमा पर्ने नेताहरूले जनाएका छन् । ओली पक्षका नेताहरूले पार्टी नफुटेको तर सानो रूपमा चोइटिएको दाबी गरेका छन् । तर, नेपाल पक्षका नेताहरूले भने आफ्नो पार्टीले एमालेलाई चुनौती दिने दाबी गरेका छन् ।
एकताले बुनेको टाइमलाइन
भदौ १० –केन्द्रीय कमिटी बैठक
भदौ १६–२० जिल्ला र जनसंगठन भेला
भदौ २५–२६ स्थायी कमिटी बैठक
भदौ २७–२८ केन्द्रीय कमिटी बैठक
असोज ४–६ विधान महाधिवेशन
कात्तिक ६ –देशभर वडा अधिवेशन
कात्तिक ९– स्थानीय तहका अधिवेशन
मंसिर १०–१३ १०औं राष्ट्रिय महाधिवेशन
एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले बाटो बिराएर तथा एमालेबाट चोइटिएर अर्को दल खोल्न पुगेकालाई एकतामा आउन आह्वान गरिएको जानकारी दिए । ‘एमालेबाट चोइटिएर जानेहरूले पश्चाताप मान्नुपर्ने भएकाले त्यस्तो अवस्था आउन नदिन उहाहरूले सोचविचार गरी पुनः फर्कनुपर्छ र स्थायी कमिटी बैठकले फर्कन आह्वान गर्ने निर्णय गरेको छ,’ प्रवक्ता ज्ञवालीले भने । एमालेको स्थायी कमिटी बैठकले पार्टीका सबै संरचना २०७५ साल जेठ २ गतेअघिकै अवस्थामा फर्काउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । तर, नेकपा एकताबाट आएका र एमालेमा निरन्तरता दिएका पूर्वमाओवादी नेता कार्यकर्ताको हकमा भने जिम्मेवारी यथावत् राखिएको छ ।
एकताको आधारहरु
– सबै तहका कमिटी २०७२ जेठ २ अघिको जिम्मेवारीमा फर्किने
– केन्द्रीय सदस्य र विभागमा मनोनयन गर्न कार्यदल गठन
– नेकपा हुँदाका तर एमालेमा आएका माओवादी नेताहरूको जिम्मेवारी र सदस्यता यथावत्
१० बुँदे कार्यान्वयन गर्न कार्यदल गठन
सदस्यहरू
ईश्वर पोखरेल, भीम रावल, घनश्याम भुसाल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट
स्थायी कमिटी बैठकले सदस्यता नवीकरणका लागि २०७५ जेठ २ गतेको सदस्यतालाई आधार बनाउने र एकीकरणमा आबद्ध भएका तथा २०७५ जेठ ३ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरूको सदस्यतासमेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने निर्णय बैठकले गरेको छ ।
नेकपा एमालेले हालै विभाजित भएर गएको समूहलाई मूलधारमा फर्किन आह्वान गरेको छ । आज सम्पन्न भएको स्थायी समिति बैठकले पारित गरेको प्रस्तावमा यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै एकता आह्वान गरिएको हो ।
प्रस्तावमा भनिएको छ, ‘एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिहेका कामरेडहरूलाई हामी आग्रह गर्छौं, मुलुकसामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतीप्रति संवेदनशील हुँदै पार्टीको काँधमा उपस्थित एतिहासिक अभिभाराप्रति सचेत रहँदै त्यस्तो गलत र हानिकारक बाटो छाडेर पार्टी एकतामा आबद्ध हुनुहोस्, आफ्नो मूलघरमा फर्किनुहोस् ।’
मूल धारमा फर्कन आह्वान
एमालेले हालै विभाजित भएर गएको समूहलाई मूलधारमा फर्कन आह्वान गरेको छ । मंगलबार सम्पन्न भएको स्थायी समिति बैठकले पारित गरेको प्रस्तावमा(
विभाजनकारी गतिविधि र छुट्टै दल दर्ताको प्रक्रियाबाट अलग भएर पार्टी एकतामा योगदान गर्नेहरूलाई हार्दिक स्वागत गरिने एमालेले जनाएको छ ।
प्रस्तावमा थप भनिएको छ, ‘जीवन्त र लोकतान्त्रिक पार्टीमा समस्या उत्पन्न हुनु, समस्यालाई हेर्ने दृष्टिकोणमा भिन्नता हुनु र कतिपय प्रश्नमा असहमति पैदा हुनु स्वाभाविकै हो । तर, समस्याका विकल्प विग्रह होइन । त्यसरी नै भिन्नताको समाधान अन्तरद्वन्द्व होइन । असहमतिको निष्कर्ष त विभाजन झन् हुँदै होइन । नेकपा एमालेको एकता यस पार्टीका लाखौं सदस्य र समर्थक–शुभचिन्तकको मात्र होइन, आमजनता र देशकै चाहना हो ।’
.jpg)


