साउन १ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही साता एसईईको नतिजा सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यसै साता नतिजा सार्वजनिक गर्न सकिने सम्भावना रहेको जनाएका छन् । ‘नतिजा प्रकाशनको लागि अन्तिम अन्तिम चरणको काम गरिरहेका छौं,’ उनले भने, ‘त्रुटि कम्ति होस् भनेर रुजु गर्ने काम भइरहेको छ, साउन पहिलो साता विद्यार्थीले नतिजा प्राप्त गर्ने सम्भावना धेरै छ ।’
विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्म मिति, नाम थर लगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुःख पाउने गरेकाले नतिजाअघि नै अधिकतम जाँच गर्न लागिएको उनले जनाए । विवरण फरक परे सच्याउन देशभरका विद्यार्थी भक्तपुर सानोठिमीस्थित कार्यालय नै आउनुपर्ने बाध्यता छ । बोर्डका प्रादेशिक कार्यालयमा यी विवरण उपलब्ध नहुँदा त्यहाँबाट सच्याउन सकिँदैन ।
कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै यसपटक एसईई परीक्षा संचालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् ।
वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ ।


