आइतबार, भाद्र २८ गते २०८३
images

कोरोनाबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत

एक्सप्रेस पाना
श्रावण ३, २०७९ मंगलबार
  • 297
    SHARES
  • कोरोनाबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत

    स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । 

    images

    कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणापत्र, २०७८ बमोजिम राहत प्रदान गरिएको अधिकारीले बताउनुभयो । 

    कार्यालयले जिल्लाका १० वटै पालिकामार्फत कोरोनाबाट मृत्यु हुनेको विवरणसहित निवेदन माग गरेको थियो । उहाँका अनुसार अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई मात्रै राहत रकम वितरण गरिएको छ । “कार्यविधिअनुसार अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई मात्र आर्थिक सहायता दिइएको छ, होम आइसोलेशनमा मृत्यु भएकाले रकम पाउँदैनन्”, उहाँले भन्नुभयो । 

    images

    आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड–१९ पोजिटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेश गर्नुपर्ने प्रावधान थियो ।

    आर्थिक राहत लिनका लागि १६९ परिवारले निवेदन दिए पनि अन्यको कागजात नमिलेका कारण राहत प्रदान गर्न नसकिएको कार्यालयले जनाएको छ । “कागजात नमिलेका कारण अन्यलाई राहत दिन सकेका छैनौँ, तनहुँ ठेगाना भई एक विदेशमा मृत्यु भएका परिवार र प्रक्रिया पुगेका दुईलाई पनि राहत रकम वितरण गर्न बाँकी छ”, अधिकारीले भन्नुभयो । 

    प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत रकम दिए पनि जिल्लाका पालिकाले पनि राहत रकम वितरण गरेका थिए । विभिन्न पालिकाले आफ्ना पालिकाभित्रका नागरिकको परिवारलाई राहत रकम प्रदान गरेका थिए ।  तनहुँमा कोभिड–१९ बाट ६४ महिला र ९७ पुरुषसहित १६१ को मृत्यु भएको छ ।