साउन १२ बनेपा । काभ्रे जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ । करिब एक महिनाअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल तीन स्थानीय तहको ९ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
काभ्रेपलाञ्चोकमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन् । ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो । पाँखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौंस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख डा.पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो । “करिब एक महिनाको अवधिमा ९ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ, हामी रोगको स्रोतको सर्च एण्ड डिस्ट्रोय गर्ने अभियानमा छौँ”, सेढाईंले भने ।
सङ्क्रमित ९ मध्ये धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन् । यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ । काठमाडौंमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आइसियुमा राखिएको सेढाईंले बताए ।
यसैबीच जिल्ला स्वास्थ्य कार्यालय र नगरका स्वास्थ्य टोलीले डेङ्गु सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गरिरहेको छ । साथै, सङ्क्रमितलाई निगरानीमा राखी उपचार तथा अन्य गतिविध बढाइएको कार्यालयले जनाएको छ । “सदरमुकाम धुलिखेल लगायतको स्थानका डेङ्गु सङ्क्रमणको केसमा निकै गम्भीरतापूर्वक अनुसन्धान पनि गरिरहेका छौं”, सेढाईंले भने ।
लामो समयपछि पाँचखालमा पहिलो डेङ्गुको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाई अलर्ट’मा बस्न भनिएको छ । डेङ्गुको सङ्क्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा कार्यलयको ¥यापिड टिमले अनुगमन तथा सम्भावित परीक्षण गर्ने जनाएको छ ।
साथै, जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको कीटसहितको टोलीसमेत परिचालन गरिने योजना बनाइएको छ । काभ्रेमा यसअघि २०७६ भदौमा ६ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्यु समेत हुने गर्दछ ।


