आइतबार, भाद्र २८ गते २०८३
images

ज्येष्ठ नागरिकको घरमै निःशुल्क स्वास्थ्य परीक्षण

एक्सप्रेस पाना
भाद्र १०, २०७९ शुक्रबार
  • 227
    SHARES
  • ज्येष्ठ नागरिकको घरमै निःशुल्क स्वास्थ्य परीक्षण

    भदौ १० दोधाराचाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । नगरपालिकाका नगर उपप्रमुख निलम जोशी लेखकले आजदेखि ७५ वर्ष माथिका ज्येष्ठ नागरिकको घरदैलोमा गएर निःशुल्क आधारभूत स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको बताउनुभयो । 

    images

    “हामीले चुनावको बेला गरेको प्रतिबद्धताअनुसार ज्येष्ठ नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य परीक्षण १९ वटै वडामा सञ्चालन हुनेछ ।” नगरपालिकाले वडा–८ स्थित भानु टोलबाट स्वास्थ्य परीक्षण सुरु गरेको हो । पहिलो दिन २७ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । 

    वृद्धवृद्धाको ब्लड प्रेसर, ज्वरो, सुगर जाँच गरेर औषधि वितरण गरिएको वडा–८ का अध्यक्ष मदनराज मिश्रले जानकारी दिनुभयो । “पहिलेदेखि औषधि सेवन गरिरहेकालाई स्वास्थ्य परीक्षण गरेर औषधि पनि उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “यो अभियान वडामा अझै दुईरतीन दिनसम्म चल्छ ।” उहाँका अनुसार वडामा एक सय ८० ज्येष्ठ नागरिक छन् । ती सबैको स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

    images

    नगरपालिकाका स्वास्थ शाखा प्रमुख नरेन्द्रराज जोशीले हरेक महिना ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने नगरपालिकाको नीतिअनुसार शुक्रबारदेखि सेवा सुरु गरिएको जानकारी दिनुभयो । “हरेक महिनाको एक पटक सबै वडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण हुन्छ”, उहाँले भन्नुभयो, “यसका लागि तथ्याङ्क सङ्कलनको काम भइरहेको छ यो महिनाभरीमा सबै वडामा सेवा पुग्छ ।”