आइतबार, भाद्र २८ गते २०८३
images

चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 315
    SHARES
  • चितुवाको मुखबाट उम्किएका बालकको सफल शल्यक्रिया

    भदौ १२ काठमाडौं । चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका-१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । चितुवाले च्यापेर उनीलाई लग्दै गरेको अवस्थामा उनकी आमा लक्ष्मी परियारले बचाउनुभएको थियो ।

    images

    गम्भीर घाइते सुलभलाई स्थानीय स्वास्थ्य सस्थामा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज ल्याइएको थियो । बालकको थप उपचारका लागि पत्रकार सुवास पण्डितले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका अनुसार तत्काल कलेजमा शल्यक्रिया गरी उपचार अगाडि बढेकोले बालकको जीवन रक्षा भएको हो । उहाँले भन्नुभयो, “हामीले चितवन मेडिकल कलेजका जिम्मेवार व्यक्तिलाई फोन गरेर बालकको उपचारमा सहयोग गर्न आग्रह गरेका थिऔँ । ”

    अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बालकको सफल शल्यक्रियापछि हाल अवस्था सुधार हुँदै गएको जानकारी दिनुभयो । बालकको घाँटीमा गम्भीर चोट लागेको थियो । “श्वासनली र रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण बालकलाई बचाउन सकिएको हो” उहाँले भन्नुभयो “चितुवाको आक्रमणबाट बालकको आँखा, नाक, मुखजस्ता महत्वपूर्ण अङ्ग क्षति हुनबाट जोगिएको रहेछ, श्वासनली र घाँटी हुँदै रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण शल्यक्रिया सफल भएको हो ।”

    images

    अस्पतालमा कार्यरत चिकित्सक त्रय सुरेशराज शर्मा, सुमित अधिकारी र नवीनकृष्ण यादव  शल्यक्रिया सम्लग्न हुनुहुन्थ्यो । उहाँहरुका अनुसार बालकको घाँटीमा मल्टिपलपञ्चर (ठाउँ-ठाउँमा गहिरो चोट परेको र मासुसमेत च्यातिएको) थियो । देव्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाइएको छ भने घाँटीको शल्यक्रिया गरिएको छ ।

    बालकका बाबु सुवास परियारले शल्यक्रिया सफल भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँका अनुसार गत बुधबार साँझ ५ः३० बजेको समयमा आँगनमा खेलिरहेका सुलभलाई चितुवाले लगेको थियो । घरभित्र र पिँढीमा घरका अन्य सदस्य भइरहेको समयमा चितुवाले लगेको उहाँको भनाइ छ ।

    चितुवाले ५० मिटर माथिसम्म पु¥याएको थियो । आमालगायतका परिवारका सदस्यले हारगुहार गरेपछि चितुवा बालकलाई छाडेर भागेको सुवासले बताउनुभयो । अस्पतालले बालकको निःशुल्क शल्यक्रिया गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार औषधिलगायत अन्य लागत शुल्कमात्रै लिइएको छ । बच्चालाई सघन उपचारकक्षबाट साधारणकक्षमा सारिएको छ ।रासस