महिलालाई सताइरहने स्वास्थ्य समस्यामध्ये एक हो, तल्लो पेट दुख्नु । महिनावारी हुँदा तल्लो पेट दुख्नु सामान्य नै मानिन्छ । सबै महिलामा पेट दुखाइको किसिम सामान्य खालको हुँदैन । त्यो पीडा कसैलाई असह्य किसिमको पनि हुन्छ ।
तल्लो पेट दुख्ने सबै पाठेघरको कारणले मात्र हुन्छ भन्ने हुँदैन । तल्लो पेट दुख्ने समस्या ढाडको कारणले पनि हुन सक्छ । यो दुखाइ महिनावारीको समयमा हुने दुखाइ मात्र होइन । महिनावारी नहुँदा पनि तल्लो पेटको दुखाइ हुन्छ । यो दुखाइलाई कम गर्न नियमित औषधि नै सेवन गर्नुपर्ने अवस्था आउँछ ।
पाठेघरमा हुने संक्रमण, पाठेघरको भित्ताको संक्रमण, पिसाबको संक्रमण, अण्डाको संक्रमण भइरह्यो भने तल्लो पेट दुख्ने हुन्छ । असुरक्षित यौन सम्पर्क, असुरक्षित गर्भपर्तन पनि तल्लो पेट दुख्नुको मुख्य कारणमध्ये एक हो ।
कहिलेकाहीँ महिनावारीको बीचमा र महिनावारी हुनुभन्दा अगाडि पेट दुख्नु सामान्य प्रक्रिया हो । तर तल्लो पेट दुखेर नियमित औषधि सेवन गर्नुपर्ने भयो वा दैनिकीमा बाधा पुग्यो भने चिकित्सकलाई देखाउनुपर्छ ।
यो समस्याले ३५ देखि ४५ वर्ष उमेरका महिलालाई बढी सताउँछ । महिनावारी हुँदा धेरै पेट दुखेमा, महिनावारी अनियमित भएमा र धेरै ढाड दुखेमा तत्काल चिकित्सकको परामर्शमा जानुपर्छ । यौनाङ्गको सरसफाइमा ध्यान दिने, असुरक्षित यौन सम्पर्क नगर्ने र स्वस्थ जीवनशैली अपनाए तल्लो पेट दुख्ने समस्या बाट बच्न सकिन्छ ।


