शनिबार, भाद्र २७ गते २०८३
images

३० हजार डोज दादुरा रुबेलाको खोप आज बाँके पुग्दै

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 289
    SHARES
  • ३० हजार डोज दादुरा रुबेलाको खोप आज बाँके पुग्दै

    काठमाडौँ ।  दादुराको महामारी फैलिएको बाँकेमा आज ३० हजार डोज दादुरा रुबेलाको खोप पुग्दैछ । दिउँसो करिब चार बजेसम्म उक्त खोप बाँके पुग्ने स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए । 

    images

    दादुरा रुबेलाको खोप १६ हजार ५ सय डोज स्टकमा रहेकोमा हालसम्म ७ हजार ५०० खोप खपत भइसकेको छ । कुल ९ हजार खोप मात्र बाँकी रहेकाले थप माग गरिएको कार्यालयले जनाएको छ । उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र मार्फत प्राप्त हुन लागेको हो । 

    दादुरा रोगको नियन्त्रणका लागि पहल गरिरहेको र खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने प्रयास गरिरहेको श्रेष्ठले बताएका छन् । रोगको लक्षण देखिने बित्तिकै उपचारका लागि स्वास्थ्यकर्मीहरुलाई सम्बन्धित ठाउँमा पठाउने गरिएको छ ।  

    images

    बाँकेमा दादुराका बिरामी बढ्न थालेपछि त्यहाँ पुष २२ गतेदेखि दादुरा रुबेला विशेष खोप अभियान सञ्चालन गरिएको छ । बिरामीको संख्या बढ्दै गएपछि बाँकेमा आजदेखि १५ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिँदैछ । यसअघि बुधबार १३ वटा खोप केन्द्र सञ्चालन गरिएको थियो । बिहान १० बजेदेखि ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन् । 

    नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्रबाट ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउन लागिएको हो । आफ्ना बालबालिकाहरुलाई खोप केन्द्रमा लगेर खोप लगाउन श्रेष्ठको आग्रह छ । 

    बुधबार मात्र ३ हजार २१३ जनालाई दादुरा रुबेलाको खोप लगाइएको कार्यालयको तथ्यांक छ। १ हजार ५२४ बालिका र १ हजार ७०७ बालक गरी ३ हजार २१३ जनालाई खोप लगाइएको हो । यो सँगै बाँकेमा दादुरा रुबेलाको खोप लगाउने बालबालिकाको संख्या ७ हजार १६३ पुगेको छ । 

    बाँकेमा हालसम्म ११५ जनामा दादुरा रोग देखिएको छ । नेपालगञ्जका ११३ र खजुराका २ जना गरी ११५ जनामा दादुरा देखिएको हो । वडा नं १ मा २, वडा नं मा २ र वडा नं १६ मा १ गरी पाँच जना दादुरा बिरामी पत्ता लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोे छ ।

    हाल ५८ जना घरमा आइसोलेसनमा रहेको, ६२ जना उपचाररत रहेको र २ जना अस्पताल भर्ना गर्नु परेको कार्यालयले जनाएको छ । ५२ जना बिरामी भने उपचारपछि निको भएका छन् । योसँगै दादुराको महामारी फैलनबाट रोक्न आज र भोलि नेपालगञ्ज उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो ।