काठमाडौं । फ्रेन्च क्लब पेसिर सेन्ट जर्मन (पिएसजी)बाट खेल्ने ब्राजिलियन स्टार खेलाडी नेइमार यो सिजन खेल्न नसक्ने भएका छन् ।
फागुन ६ गते भएको लिलेविरुद्धको खेलमा घाइते भएपछि स्ट्रेचरमा राखेर मैदान बाहिर ल्याइएका नेइमार कम्तिमा ३ देखि ४ महिना खेल्न नसक्ने पिएसजीले जनाएको छ ।
अब डाक्टरहरुले नेइमारको एन्कलमा उपचार गर्न अप्रेसन नै गर्नुपर्ने सुझाव दिएपछि उनी यस सिजन खेल्न नसक्ने भएका हुन् । यसले पिएसजीलाई ठुलो झट्का लागेको छ ।
पछिल्लो चार बर्षमा नेइमारको यो चौथो पटक एन्कल इन्जुरी हो । उनले २०१७ मा पिएसजी आएपछि एक सिजन मात्र लिगका २० भन्दा बढी खेल खेलेका छन् ।
यस सिजनमा भने नेइमारको प्रदर्शन उत्कृष्ट रहेको थियो । यस सिजनमा पिएसजीका लागि अहिलेसम्म कुल २९ खेल खेल्दै १८ गोल गरेका थिए भने १४ गोल असिस्ट समेत गरेका थिए ।
पिएसजीले नेइमारको एन्कलको अप्रेशन कतारको दोहामा हुने जानकारी दिएको छ । नेइमारको इन्जुरीले पिएसजी भने संकटमा परेको छ । लिगमा शिर्ष स्थानमा रहेपनि च्याम्पियन्स लिगमा नेइमारको अनुपस्थितिले पिएसजीलाई कमजोर बनाउने विश्वास गरिएको छ ।


