तेस्रो संस्करणको इन्द्रावती गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि फाइनल खेलै नखेली वडा नम्बर १२ ले उचालेको छ । फाइनल नखेली कप उचालेको वडा १२ लाई गाउँपालिकाका अध्यक्ष झम्क नेपालले उपाधिसँगै नगद एक लाख पुरस्कार प्रदान गरे ।
खेलमा विवाद चर्किएपछि अनौठो मोडमा पुगेको खेलसँगै दोस्रो पुरस्कार लिने टिमसमेत भेटेन आयोजकले । योसँगै दोस्रो उपाधि आयोजक इन्द्रावती गाउँपालिकाले नै राखेको छ। यसैगरी सेमिफाइनलमा पराजित वडा ४ ले तेस्रो उपाधि हात पारेको छ । तेस्रो भएको वडा ४ ले ४० हजार पनि पाएको छ ।
उजुरी हाल्नेलाई कारबाही
तालिका अनुसार मंगलवार फाइनल थियो । वडा १२ वडा ४ लाई हराउँदै फाइनल प्रवेश गरेको थियो । अर्को सेमिफाइनल खेलमा वडा १० लाई हराउँदै वडा ९ फाइनल प्रवेश गरेको थियो । फाइनल खेल वडा नम्बर ९ र १२ बिच हुनपर्ने । तर वडा ९ र १० बिचको सेमिफाइनल खेल विवादमा तानियो ।
वडा ९ ले लिस्टमै नभएको खेलाडी हालेर खेल खेलाएको भन्दै छानबिनका लागि गाउँपालिकामा उजुरी दिएको थियो । सोमवार भएको सेमिफाइनलको दोस्रो खेलमा निर्धारित समयमा दुबै टिमले कुनै गोल गर्न नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टी सुटाउटमा ९ ले १० लाई हरायो । लगत्तै छानविनका लागि वडा १० ले उजुरी दियो । यता आयोजकले भने दुबै टिमलाई कारबाहीस्वरुप प्रतियोगिताको बाँकी खेलमा प्रतिबन्ध लगाउने निर्णय गर्यो । अनि वडा नम्बर १२ फाइनल खेल्नै परेन । गाउँपालिका अध्यक्षले सिधै उपाधि हस्तान्तरण गरे ।
वडा १२ ले सेमिफाइनल खेलमा वडा ४ लाई २-० गोलको अन्तरले फाइनल जान रोकेको थियो । फाइनल खेल नै भएपछी दोस्रो पुरस्कार भने गाउँपालिका आफैसँग रहने निर्णय भएसँगै वडा ४ ले सिधै तेस्रो स्थान पाएको हो।
मञ्चमा ढुंगा प्रहार
खेल विवादमा तानिएपछि समयमै निर्णय नहुँदा समापन कार्यक्रम नै तनावग्रस्त बन्न पुग्यो । असन्तुष्ट पक्षले समापनका लागि बनेको मञ्चमै ढुंगा प्रहार गरे । जसले गर्दा गाउँपालिकाका जनप्रतिनिधि र कर्माचारीबिच हुने भनिएको मैत्रीपूर्ण खेल पनि हुन सकेन । प्रतियोगितामा विभिन्न विधाका अवार्ड तयारी थियो तर विवादले कुनै खेलाडीलाई अवार्ड दिइएन । फागुन २१ देखि २३ सम्म तोकिएको प्रतियोगितामा गाउँपालिकाभरका १२ वडाको सहभागिता रहेको थियो । प्रतियोगिता इन्द्रावती वडा ८ स्थित सिपापोखरेको सहिद स्मृति रंगशालामा भएको हो ।


