काठमाडौं । सिन्धुपाल्चोकको जिल्लाको मेलम्ची नगरपालिका-११ स्थित प्रगति अंग्रेजी माध्यमिक विद्यालयको ३१औँ बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई समान व्यवहार गरिने बताउनुभएको छ । प्रमुख अतिथि उहाँले सो कुरा बताउनुभएको हो । उहाँले ऐन संशोधन गरेर भएपनि संस्थागत बिद्यालयहरुलाई पनि सहयोग गरिने बताउनुभयो । सोही क्रममा नगरपालिकाका उपप्रमुख उमा प्रधानले गुणस्तरीय शिक्षा प्रदान गर्न संस्थागत बिद्यालयहरुले पनि समुदायलाई सहयोग गरेकाले कुनै विभेद गर्न नहुने धारणा राख्नुभयो ।
बिद्यालयको बार्षिकोत्सवको अबसरमा हरेक बर्ष गरिदै आएको प्रगति सम्मान कार्यक्रमबाट यो बर्ष पनि तीन जना सम्मानित भएका छन् । बिद्यालयले प्रदान गर्ने प्रगति पत्रकारीता सम्मान २०७९ बाट पत्रकार दिनेश थापा, प्रगति साहित्य सम्मानबाट किशोर बुढाथोकी र प्रगति लोक गीत सम्मानबाट लोक गायक पदम दुलाल सम्मानित हुनुभएको सम्मान कार्यक्रमका संयोजक डम्बर रसिक भारतीले बताउनुभयो ।
साहित्य विधाबाट सम्मानित भएका बुढाथोकीले खाडी मुलुक कतारदेखि नेपालमा समेत साहित्यमार्फत नेपाली भाषा संस्कृतिको उत्थान, विकास र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले कदरस्वरूप सम्मान गरिएको विद्यालयका प्रध्यानाध्यापक ऋषी नेपालले बताउनुभयो । बुढाथोकीको मरूभूमिको साहित्य यात्रा र जूनका आभाहरू कृति प्रकाशित छ । त्यस्तै प्रगति पत्रकारिता सम्मानबाट दिनेश थापा र प्रगति कला सम्मानबाट पदम दुलाल सम्मानित हुनुभएको छ । विद्यालयले हरेक वर्ष विभिन्न विधामा समाज विकासमा लागि योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । थापा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष हुन् ।

२०६० सालबाट पत्रकारिता सुरु गरेका थापा हाल सिन्धु प्रवाह साप्ताहिकका सम्पादक रहेका छन् । राजधानी दैनिक र नेपाल प्रेस डटमा आवद्ध उहाँले जिल्लामा भएका विपद्लगायतमा समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गराएकाले सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठ जानकारी दिनुभयो । लोक गायक पदम दुलाललाई गीत संगीतबाट मनोरञ्जन मात्रै नभई जिल्लाको कला तथा पर्यटन विकासमा सघाउ पु¥याएकोले सम्मान गरिएको समेत उहाँले बताउनुभयो ।
सिन्धुपाल्चोकमा जन्मेर राष्ट्रलाई योगदान गर्ने विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि निरन्तर सम्मान प्रदान गर्दै आएको विद्यालयले आफ्नो ३१औं वार्षिकोत्सव समारोहको अवसरमा सम्मान प्रदान गरेको हो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ तथा उप प्रमुख उमा प्रधानले सम्मानित हुनेहरूलाई दोसल्ला तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।


