काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसे औपचारिक रुपमा सार्वजनिक भएका छन् ।
एन्फाले मंगलबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो ।
प्रशिक्षक एनेसेले पनि भेटमा राष्ट्रिय टोलीका लागि आफ्नो योजना र महत्वाकांक्षा राखेका थिए । उनले दुई वर्षभन्दा बढी समयदेखि नेपाली फुटबललाई फलो गर्दै आएको बताए । "म यहाँ आएर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न चाहन्थें । यो मेरो करियरको उच्चतम बिन्दु हो र म नेपाली फुटबलले प्रस्ताव गर्न सक्ने सम्भाव्यता खोज्न चाहन्छु," उनले भने ।
विदेशमा अवसरको खोजीमा देश छाडेर जाने खेलाडीको सङ्ख्याबारे बताउँदै उनले नयाँ रणनीतिका साथ नयाँ खेलाडीलाई मैदानमा उतार्ने र राष्ट्रिय टोलीबाट राम्रो गर्ने आशा व्यक्त गरे । "म युवा ऊर्जावान खेलाडीहरूमा विश्वास गर्छु । नेपालसँग युवा खेलाडीहरूको गुणस्तर छ र उनीहरूमा अनुभवको अभाव मात्र हो । उनीहरूलाई अनुभव चाहिन्छ," उनले भने ।
विदेश गएका खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाउने हो कि भनेर सोध्दा उनले आफूले खेले हेरेका खेलाडीलाई बोलाउने बताए । "यदि कुनै खेलाडी एमेच्योर टोलीमा जान्छन् भने, म उनीहरूलाई खेलिरहेको देख्न सक्दिन । मलाई वास्तविक अवस्था थाहा छैन । म आफूले खेलिरहेको हेरेका खेलाडीहरूलाई बोलाउन रुचाउँछु," एन्नेसेले भने ।
प्रशिक्षक एनेसेले राष्ट्रिय टोलीमा रहेको आफ्नो एक वर्षको कार्यकालमा आफ्नो लक्ष्य जित्ने रहेको बताए । "जितले मात्र हामीलाई केहि हासिल गर्न मद्दत गर्न सक्छ । हामीले ती जीतहरू हासिल गर्न परिवर्तन गर्न आवश्यक छ तर यसले केही समय लिनेछ," उनले भने।


