काठमाडौं । राजधानीमा जारी सहिख स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत पाँचौ चरणको खेलमा सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ ।
च्यासल खेलमैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २-१ गोलअन्तरले हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लिएको हो ।
सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक-एक गोल गरे । यता खुमलटारका लागि राजीव लोप्चनले एक गोल फर्काए ।
खेलको १३औँ मिनेटमा सर्डोरबेकले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाए । खेलको २५औँ मिनेटमा दीपकले गोल गर्दा सातदोबाटो २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ६३औँ मिनेटमा खुमलटारका राजीवले एक गोल फर्काए पनि सातदोबाटो विजयी भयो । सातदोबाटोले पाँच खेलमा १२ अङ्क जोडेको छ । समान पाँच खेल नै खेलेको खुमलटारको छ अङ्क छ ।


