काठमाडौँ । राजधानीमा जारी यस सिजनको पाँचौ चरणको सहिद स्मारक ए डिभिजन फुटबल लिग अन्तर्गत आज दुई खेल हुदै छन् । आज हुने दुवै खेल अपराहन्न साढे २ बजेदेखि हुने छन् ।
आजको खेलमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लब एन्फा कम्प्लेक्समा भिड्दै छन् भने अर्को खेलमा चर्च ब्वाइज युनाइटेड क्लब र मछिन्द्र क्लब च्यासल मैदानमा भिड्दै छन् ।
यस अघि खेलेका चार खेलमा २ जित, एक बराबरी र एक हारसहित ७ अंक हासिल गरे बनाएको थ्री स्टार क्लब आजको खेलमा जित निकाल्दै १० अंक जोड्ने दाउमा रहेको छ भने समान खेलबाट जावलाखेल युथ क्लबले २ जित, एक बराबरी र एक हार बेहोरेको छ । उसको पनि ७ अंक नै रहेको छ ।
त्यस्तै आजै हुने अर्को खेलमा ४ खेलमा ३ जित र एक बराबरीसहित अपराजित रहदै १० अंक बनाएको चर्च ब्वाइज युनाइटेड मछिन्द्रलाई हराउने योजनामा रहेको छ । यता सुरुवाती दुई खेल गुमाएको मछिन्द्र क्लब भने ४ खेलमा एक जित, एक बराबरी र दुई हारसहित ४ अंक हासिल गरेको छ ।


