सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ ।
हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । हामीले सास लिंदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ । यसक्रममा त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यस झिल्लीलाई ‘डायफ्रम’ भनिन्छ । त्यही डायफ्रममा कुनै कारणले उत्तेजना भयो भने त्यो अचानक खुम्चिनमात्रै पुग्छ र त्यस्तो अवस्थामा हाम्रो स्वरयन्त्रबीचको भाग बन्द हुन पुग्छ ।
बाडुली सम्झना हैन समस्या
आम मानिसमा कुनै न कुनै समयमा भएको वा हुनसक्ने समस्या हो बाडुली । नेपाली समाजमा बाडुली लाग्नुलाई कसैले सम्झिएको संकेत भन्ने चलन छ। तर, बाडुली कसैले सम्झिएर हैन कि श्वासप्रश्वास नलीमा केही गडबढी भएको अवस्थामा उत्पन्न हुने लक्षण हो ।
श्वासनली साँगुरो भई बाहिर आउने श्वास रोकिएको अवस्थामा बाडुली लाग्छ । अर्कोतिर पेटमा हावा भरियो भने वा मस्तिष्कका धमनीमा केही गडबडी भएमा पनि बाडुली लाग्न सक्छ । ज्वरो आईरहने वा मृगौलामा कुनै गडबडी वा पुरानो रोग भएमा र पानीको कमीका कारण पनि बाडुली लाग्छ । बाडुली लामो समयसम्म लागेमा चिकित्सकको सल्लाह लिनु पर्दछ । सामान्य अवस्थामा बाडुली लाग्यो भने निम्नानुसारको घरेलु उपचार गर्न सकिन्छ ।
घरेलु उपचार
एक/एक भाग अमला, सुठो र पिपलको धुलोमा तीन भाग खाँड मिसाएर आधा चम्चा महसँग चाट्ने र केराको जराको रसमा थोरै मिस्री मिलाएर पिउने
अलैँची पिसेर मिस्रीको चास्नीमा राखेर चाट्ने
एक लिटर उमालेको पानीमा एक तोला रायो मिलाउने र तैरिन दिने, रायो पिँधमा बसेपछि पानी पिउने
हरियो पुदिना एक कचौरा पानीमा पिसेर थोरै मिस्री मिलाई छानेर पिउने
तातो दुधमा गाईको घिउ राखेर पिउने
कागतीको रसमा मह र बिरेनून मिसाई खाने। ताजा अदुवा चुसिरहने ।
प्राणायाम, व्यायाम प्रशस्त गर्ने ।
नोट: बाडुली रोकिएन वा निरन्तर आइरह्यो भने चिकित्सकलाई देखाउन आवश्यक छ ।


