शनिबार, भाद्र २७ गते २०८३
images

ढिलो सन्तान जन्माउँदा आमा र बच्चालाई कस्ता जोखिम हुन्छन् ?

एक्सप्रेस पाना
बैशाख ३, २०८० आइतबार
  • 306
    SHARES
  • ढिलो सन्तान जन्माउँदा आमा र बच्चालाई कस्ता जोखिम हुन्छन् ?

    काठमाडौं । महिलाले जन्मदा नै पाठेघरमा निश्चित अण्डाहरु लिएर आएका हुन्छन्। ती अण्डाहरु उमेर अनुसार विस्तारै सकिँदै जान्छन्। एक स्वस्थ उमेरमा आमा बन्न आवश्यक छ । सही उमेरमा सन्तान नहुने र बाँझोपनको समस्या पनि देखिने सम्भावना बढ्छ।

    images

    सन्तान जन्माउने सही उमेर २१ देखि २९ वर्षसम्म हो। ३० वर्षको उमेरसम्म महिला आमा बन्न आवश्यक छ। ३० देखि ३५ वर्षपछि अण्डाहरु घट्दै जान्छ। ४० वर्षसम्म आइपुग्दा पाठेघरमा भएको गुणस्तरीय अण्डा लगभग सकिन्छ।

    ढिलो सन्तान जन्माउँदा आमा र बच्चा दुवैलाई जोखिम हुन्छ। ढिलो सन्तान जन्माउँदा अण्डाहरु पुरानो र बुढो हुने भएकाले बच्चाहरुमा डाउन सिन्ड्रोम हुने सम्भावना बढी हुन्छ। बालबालिकाहरुको विकास असामान्य हुन सक्छ। गर्भपतन हुने सम्भावना पनि बढी हुन्छ। आमालाई रक्तचाप, मधुमेह लगायत विभिन्न स्वास्थ्य समस्या आउन सक्छ। ३५ वर्ष कटेपछि महिलाको पाठेघरमा फाइबरोइड जस्तो ट्युमर पनि पलाउन सक्छ।

    images

    २७ २८ वर्षको उमेरमै पनि कतिपय महिलाहरुमा बच्चा नबस्ने समस्या देखिन्छ। बढ्दो अस्वस्थकर जीवनशैली यसको प्रमुख कारण हुन्। बढ्दो तनाव, अस्वस्थकर खानपान, निष्क्रिय जीवनशैली, पाठेघरको संक्रमण, गर्भपनतले बच्चा नबस्ने समस्या बढाउँदैछ।

    ढिलो उमेरमा विवाह गर्नु, संक्रमण, पाठेघर ट्युमरको जोखिम पनि बढी हुन्छ। बाँझोपनको समस्या महिलामा मात्र नभई पुरुषमा पनि निकै बढेको छ। बढ्दो तनाव र वातावरण पनि बाँझोपनको प्रमुख कारणमध्ये एक हुन्।

    बाँझोपनको समस्या हुनुमा महिला र पुरुष दुवै जिम्मेवार हुन सक्छन्। परामर्शका लागि आउँदा दुवै दम्पत्ति नै आउन म सुझाव दिन्छु। पुरुषमा पनि बाँझोपनको समस्या बढी रहेकाले दुवैले परीक्षण गराउन आवश्यक छ।

    उपचारको पाटोमा जानुभन्दा पहिले नै रोकथाम गर्नु राम्रो हुन्छ। बाँझोपनको समस्याबाट बच्न समयमै आमा बन्नु आवश्यक छ। एक स्वस्थ महिलाले नै स्वस्थ शिशुलाई जन्म दिन सक्छिन्। संक्रमणको नियन्त्रण, परिवार नियोजनको अस्थायी साधनको ज्ञान र स्वस्थकर जीवनशैलीबाट यो समस्याबाट बच्न सकिन्छ।

    परामर्श सबैभन्दा पहिलो र प्रभावकारी उपचार हो जस्तो लाग्छ। बाँझोपनले दम्पत्तिलाई मात्र नभई पुरा परिवारलाई नै मानसिक र सामाजिक तनाव हुन्छ। आइभीएफ भनेको अन्तिम विकल्प हो। त्यो भन्दा पहिले बिरामीको समस्याहरु बुझ्नुपर्छ। कसैको दुई वटा ट्युब बन्द छ। अण्डाको मात्रा निकै कम छ। श्रीमानको शुक्रकिट नै कम छ र लामो समयदेखि प्रयास गर्दा पनि सन्तान भएको छैन भने आइभीएफमा जानुपर्छ।

    (स्त्री रोग तथा आइभीएफ विशेषज्ञ डा नुतन शर्मासँगको कुराकानीमा आधारित)